बजार नपाउदा गोलभेंडा फालियो सडकमा ?

पत्रपत्रिकाबाट

शनिबार, ०८ फागुन २०७७, ०७ : ४३
बजार नपाउदा गोलभेंडा फालियो सडकमा ?

काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका वैदेशिक रोजगारीबाट फर्केका रामचन्द्र नेपालले स्वदेशमै तरकारी खेती गर्ने सोच बनाए । सोहीअनुसार उनले अन्नपूर्ण कृषि उत्पादन फर्म दर्ता गरे । स्वदेशमै केही गर्ने हेतुले कृषि सुरु गरेका उनी यो पेसाबाट खुसी भने छैनन् ।

‘सरकारले कृषि क्रान्ति गर्ने भनेर स्थानीय तहले खेती गर्न भन्यो, सोहीअनुसार खेती गरिरहेका पनि छौं,’ उनले भने, ‘तर त्यसको मूल्य मापन भएन । उत्पादन बजारसम्म पुर्‍याउनै गाह्रो भयो ।’ भारतीय तरकारीले नेपाली बजार कब्जा गरेपछि थप समस्या भएको किसानको भनाइ छ । त्यसको विरोधमा बर्दघाटका किसानले फागुन ४ मा बर्दघाट नगरपालिका कार्यालय परिसरमै गोलभेंडा फाले ।

‘विदेशबाट फर्केपछि करिब १८ वर्षयता कृषिमै संलग्न छु । तर हरेक वर्ष मूल्यकै समस्या छ । आयातित तरकारी सस्तो हुँदा नेपाली किसानलाई मार पर्‍यो,’ उनले भने, ‘तरकारी बेच्ने यहीँ स्थानीय तहमै हो । तर बजारबाटै विस्थापित छौं ।’ बिक्री नभएपछि करिब ६ बिघा बारीमा गोलभेंडा थुप्रिएको उनले गुनासो गरे ।

जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका नवलपरासी जिल्ला अध्यक्ष कमल परियारले पनि उत्पादनले बजार नपाएको बताए । ‘किसानको बारीमा उत्पादन प्रशस्त छ । १०र१२ दिनयता तापक्रम पनि बढ्यो, दुई–चार दिनपछि पाक्ने गोलभेंडा अगाडि नै पाक्यो,’ उनले भने, ‘उत्पादनले बजार पाएन । हाटबजारमा किलोको १०र१५ रुपैयाँमा किन्न पाइन्छ । किसान थप सस्तोमा बिक्री गर्न बाध्य छन् ।’

सिजन भएकाले गोलभेंडाको मूल्य सस्तो भएको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेको दाबी छ । ‘सिजन भएकाले उत्पादन बढी नै छ । जिल्लामै प्रशस्त उत्पादन भएकाले जिल्ला बाहिरको रोक्नुपर्‍यो भन्ने माग गरेका छन्, किसान उग्र किसिमले कार्यालय आए,’ काफ्लेले भने, ‘असन्तुष्टि पोख्न सजिलो छ, यसमा नगरपालिकाले सहजीकरण मात्र गर्ने हो ।’ कान्तिपुरमा खबर छ ।