काठमाडौँमा सम्पादक फेरिने मौसम सुरु भयो, रातोपाटीमा बराल

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, २२ : ३२
काठमाडौँमा सम्पादक फेरिने मौसम सुरु भयो, रातोपाटीमा बराल

कोरोना महामारीकै बीच काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिक ‘अन्नपूर्ण पोस्ट्’ बाट प्रधानसम्पादक हरिबहादुर थापा राजीनामा दिएर हिँडे ।

सो अघि कान्तिपुर दैनिकमा लामो समय समाचार सम्पादक रहेर काम गरिसकेका उनी सम्पादकको लाइनमा भएपनि व्यवस्थापनले एकाएक नारायण वाग्लेलाई नियुक्ति गरिदिएपछि उनी रिसको चुरमा कान्तिपुर चटक्कै छाडेर अन्नपूर्णतिर हान्निएका थिए ।

तर, प्रकाशक क्याप्टेन रामेश्वर थापाको मनपरीका साथै पत्रकार, कर्मचारीलाई समयमा तलब नदिने र सम्पादकीय स्वतन्त्रता समेतमा हस्तक्षेप गरेपछि उनी व्यवस्थापनलाई राजीनामा थमाएर बाहिरिएका थिए । उसो त नारायण वाग्लेकै कारण थापाले कान्तिपुरबाट बाइबाइ भन्नुपरेको थियो भने नारायणको कविता शैलीको पत्रकारिताले कान्तिपुर उँभो लाग्न नसकेपछि पुरानै सुधीर शर्माले प्रधानसम्पादक थमौति पाएको पनि डेढ वर्ष पुग्न लागिसकेको छ । 

अहिले अन्नपूर्ण अखण्ड भण्डारी र कान्तिपुर सुधीर शर्माको नेतृत्वमा चलेपनि त्यहाँ कार्यरत पत्रकारहरुबीच आउजाउको श्रृंखला जारी छ । त्यसको कारण अस्थिर सम्पादकीय नेतृत्व नै भएको त्यहाँ कार्यरत एक पत्रकारले बताए । उसो त कान्तिपुरको सहप्रकाशन नेपाल साप्ताहिक, शुक्रबार साप्ताहिकलगायत बन्द

हुँदा त्यहाँ कार्यरत दर्जन बढी पत्रकारको बिचल्ली नै भयो । म्यागेजिन रिपोर्टिङमा खारिएका पत्रकारहरु केही महिना बेरोजगार बनेपनि अहिले विभिन्न अनलाइनहरुमा दिन कटाइरहेका छन् । स्वयम् नेपाल साप्ताहिकका सम्पादक वसन्त बस्नेत शिलापत्र अनलाइनमा प्रधानसम्पादक बनेर गएका छन् । 

उता पछिल्लो समय नेपालकै नम्बर १ अनलाइन समाचार पोर्टल अनलाइन खबर डटकमले पनि सम्पादक फेर्न लागेको चर्चा छ । अनलाइनखबरले हालै खोज पत्रकारिता केन्द्र (खोपके) बाट बाहिरिएका शिव गाउँलेलाई प्रधानसम्पादकको रुपमा भित्र्याउन लागेको अनलाइन खबरका एक पत्रकारले बताए ।

ती पत्रकारका अनुसार हालका सम्पादक अरुण बरालले झण्डै ९ वर्षदेखि अनलाइन खबरको नेतृत्व हाँकेपनि ‘धेरै खाए चिनीपनि तितो हुँदो रहेछ’ भन्दै बाहिरिने उपयुक्त बाटोमा रहेका थिए । व्यवस्थापनले गाउँलेलाई ल्याउने गाइगुइँ चलेसँगै उनले पनि नयाँ बाटो रोजिसकेको स्रोतको दावी छ । 

स्रोतका अनुसार बराल अनलाइनखबरकै हाराहारीमा रहेको अर्को समाचार पोर्टल रातोपाटीमा जान लागेका छन् । रातोपाटीमा उनले केही चरणमा कुराकानी गरेपछि आफू तयार हुने सहमति जनाएका छन् । स्रोतका अनुसार रातोपाटीमा यसअघि नै प्रधानसम्पादक र कार्यसम्पादक रहेकाले बराललाई कसरी व्यवस्थापन गर्ने भन्नेमा आन्तरिक छलफल भइरहेको बुझिएको छ ।

रातोपाटीका एक सिनियर रिपोर्टरका अनुसार कार्यालयमा बराल आउने अनौपचारिक चर्चा भएपनि व्यवस्थापनले केही जानकारी गराउको छैन । यद्यपी बराल ल्याउँदा संस्थालाई देशकै एक नम्बर समाचार पोर्टल बनाउन सहज हुने विश्लेषणका साथ उनलाई भित्र्याउन लागिएको उनको बुझाइ छ । अझ रातोपाटीको अर्का रिपोर्टरको दावीलाई पत्याउने हो भने बरालसँग प्रधानसम्पादक दिनेगरी सम्झौता नै भइसकेको छ ।

बराललाई सम्पादक बनाइएको अवस्थामा यसअघिका सम्पादकको भूमिका के रहन्छ भन्ने प्रश्नमा उनले भने–‘कार्यकारी सम्पादकलाई बिदा गर्ने निर्णय भएको ।हालका प्रधानसम्पादकलाई भने संस्थाले कुनै न कुनै हैसियत दिएर निरन्तरता दिने योजना बनाएको छ ।’

हाल अनलाइन खबरमा जाने लागेका गाउँलेले भने त्यहीँ जानका लागि खोपकेको सम्झौता नवीकरण नगरेको बुझिएको छ । खोपकेमा पनि उनी प्रधानसम्पादककै भूमिकामा रहेका थिए । अनलाइन खबरमा उनी जाँदा कान्तिपुरका केही खोज पत्रकार र अन्य मिडियाका उनले मन खाएका केही पत्रकार पनि लैजाने बताइएको छ । 

यसैगरी हिमाल खबर पत्रिका बन्द भएपछि त्यहाँका सम्पादक किरण नेपाल पनि फुर्सदिलो रहेको भएपनि उनी समेतले अनलाइन खबरमा दाउ हेरेको बताइएको छ । तर मौका नपाउने देखिएपछि अहिले मौन रहेका छन् । यस्तै अर्को अनलाइन नेपाल खबरले पनि सम्पादक खोजिरहेको छ । तर, उपयुक्त पात्र नभेटिएकाले सो अनलाइन अहिले पर्ख र हेरको नीतिमा रहेको बताइएको छ । 

यसैगरी नेपाल लाइभले पनि केहीअघि मात्रै रामेश्वर बोहोरालाई सम्पादक बनाएको थियो भने नेपाल लाइभमा सम्पादक रहेका केपी ढुंगाना उकेरा नामको पत्रिकातिर आवद्ध भएका छन् । यसैगरी खबरहबबाट पनि जीवराम भण्डारीले अलिअघि नै बाइबाइ भनेर योहो टेलिभिजनतिर अड्डा जमाइरहेका छन् । यस्तै लोकपथ डटकमले सम्पादक खोजेको लामो समय भएपनि उपयुक्त पात्र नभेटिएको बताइएको छ भने थाहाखबरले तीर्थ कोइरालालाई सहज हुनेगरी सम्पादक खोजेको बताइएको छ । 

बजारमा सम्पादकहरु कोही खाली भएपनि उनीहरु उपयुक्त मिडिया नभएको भन्दै बसिरहेका छन् । यही बेला नारायण वाग्ले हाल प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा व्यस्त छन् भने किशोर नेपाल पनि फूर्सदमै रहेका छन् । उनले चलाउँदै आएको अनलाइन ह्याकिङका कारण प्रभावित रहेको छ । यसैगरी मुलधारका पत्रिका र अनलाइनका केही विभागीय प्रमुखहरु पनि मिडिया अदलबदलको बाटोमा रहेको बुझिएको छ।

अर्को रोचक पक्ष त के छ भने कतिपय मिडियामा काम गर्ने पत्रकारहरु प्रधानमन्त्री केपी ओलीको कदमपछि उत्पन्न परिस्थितिका कारण पनि बाटो लाग्ने मनस्थितिमा रहेका छन् । यतिबेला केपी ओली र उनका आसेपासेबाहेक सिंगो देश विघटनको विरोधमा रहेको छ । तर, ओलीलाई खुसी पार्नकै लागि र स्वार्थका कारण केही मिडिया सम्पादकीय नै लेखेर ओलीको कित्तामा जबरजस्ती लागेपछि त्यहाँका विघटनको विपक्षमा रहेका पत्रकारहरु रुष्ट बनेका छन् ।  

पत्रिका, अनलाइन लगायत त्यसरी असन्तुष्टि राख्ने झण्डै दुई दर्जनका हाराहारीमा पत्रकार रहेको बताइएको छ । उसो त उनीहरुले प्रतिगमनलाई साथ दिने मालिकलाई देखाइदिने भन्दै समाचार लेख्न नै मन लगाएका छैनन् ।  

यसैबीच केही मिडियामा भने पत्रकारकै अभाव देखिएको छ । जोडबल गर्दा पनि विविध कारणले पत्रकार राख्न नसक्दा के गर्ने भन्ने तनाव उनीहरुमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस