जब आकाशबाट सुनको वर्षा भयो

एजेन्सी

विहीबार, ०८ चैत्र २०७४, १६ : १९
जब आकाशबाट सुनको वर्षा भयो

मस्को । याकुट्स्क शहर मस्कोबाट ५००० माइल टाढा छ । यहाँ तापक्रम माइनस ८५ डिग्री फरेनहाइटसम्म पुग्छ । औसत दिनमा जिज्ञासुहरुलाई आकर्षित गर्न यो स्थानमा केही छैन । तर यो साता यो शहरबाट एक रोचक खबर आयो जसले मानिसहरुको ध्यान तान्यो । कत्ति त हतार हतार सहर तर्फ कुदे ।

यो हप्ता यो सहरको आकाशबाट ३.४ टनको सुन खसेको अस्वाभाविक दृश्य देखियोे । यो दुर्लभ दृश्य तब देखियो जब उडान भर्न लागेको सोभियत कालिन कार्गो विमानको पछाडीको ढोका खुल्यो । त्यसपछि सुनजस्तो देखिने चिज हावामा उडे । (खासमा तिनीहरु सुन नभएर डोर थिए– सुन र चाँदीको अर्ध–शुद्ध मिश्रण । शुद्ध सुन नभएपनि तिनलाई सुनको एकदम नजिक मानिन्छ ।)

रसियाको जाँच कमिटीले जारी गरेको वक्तव्यमा भनिएको छ “एन्टोनोभ ए.एन.–१२ विमानले बोकेको ९ टन बहुमुल्य धातु विमानमा खुलेपछी विमानको तल्लो ढोकामा दबाब परेर सो ढोका खुलेको थियो । सुन १५ करोड अमेरिकी डलर बराबरको थियो ।”

आकाशबाट सुन खसेको खबर सामाजिक सञ्जालमा आगो फैलिए झैं फैलिएको थियो । एक धेरै शेयर गरिएको फोटोमा लेखिएको छ ः “याकुट्स्क एयरपोर्टलाई टोयोटा प्रोबक्स जस्तोे कार चाहियो ! साथमा २०० किलोग्राम अट्ने झोला । तत्काल !!! त्यस बापत तपाईले पाउने हुनेछः आधा किलो सुन ।”

अधिकारीका अनुसार प्लेन तत्काल पुनः अवतरण गरिएको थियो । विमानस्थलको धावनमार्गमा खसेका ३.४ टन तौलका धातुको १७२ वटा ढिक्का पुनः प्राप्त गरिएको अधिकारीहरुले बताएका छन् । तर, विमानस्थलमा धातु झरेको खबर आएपछि निक्कै जिज्ञासु र लोभी मानिसहरु त्यता लागेका थिए । तर घटना लगतै सुरक्षाकर्मीहरुले सो स्थानलाई नियन्त्रणमा लिइसकेको थियो ।

तर प्रशासनले जारी गरेको वक्तव्यहरु भने एक आपसमा बाझिएको देखिएको छ । एक वक्तव्यमा विमानबाट खसेका सबै धातुका ढिक्का प्राप्त भइसकेको बताइएपनि साथै अर्को वक्तव्यमा भने प्रसाशनले कसैले उक्त बहुमुल्य धातु भेटेमा तुरुन्त फिर्ता गर्न निर्देशन दिएकोे छ । फिर्ता नगर्ने मानिसले सजाय पाउने पनि चेतावनीसमेत दिइएको छ ।

शुक्रबार दिउसोसम्म पनि केही मानिसहरु विमानस्थलको सुरक्षाकर्मीको निगरानी रहेको भन्दा केही पर मैदानमा बहुमुल्य धातु खोजिरहेका देखिन्थे ।

प्रतिक्रिया दिनुहोस