प्रचण्डको प्रचारमा केन्द्रीय कलाकार

अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ

सोमबार, ११ मंसिर २०७४, १३ : २२
अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको चुनावी सभा र घरदैलोमा घन्किने यो गीत बद्री पंगेनीले गाएका हुन् । उनै बद्री पंगेनीले आइतबार र सोमबार माडीको विभिन्न भागमा आयोजित चुनावी सभामा प्रचण्डकै अगाडि गीत गाउँदै भने, आउँछ, आउँछ प्रचण्ड आउँछ । कालो बादल फाटेर घाम लाउँछ ।


प्रचण्डको अगाडि उभिएर बद्रीले गीत गाइरहँदा मतदाताहरु छमछमी नाचेका थिए । सडक छेउमा भएको चुनावी सभामा सडकमै मतदाता नाचे । माडीको बाँदरझुलामा भएको बृहद  जनसभामा चौरमै उनीहरु नाचे । अर्का चर्चित संगीतकार चेतन सापकोटाले पनि माडीवासीलाई नचाए गीत गाएर । चेतनले आउ युवा हो, आउ साथी हो बोलको गीतसँगै वाम एकता जिन्दावाद बोलको गीत पनि गाएका थिए ।


गायक बद्री र संगीतकार चेतनलाई साथ दिन सोमबार चर्चित हास्य कलाकार मनोज गजुरेल माडी आइपुगेका छन् । उनले सोमबार माडीमा आयोजित चुनावी सभामा हास्यरस प्रस्तुत गर्दै गजुरियल संवादबाट माडीवासी मतदातालाई हँसाए । गजुरेलले ठेकेदारले राजनीति गर्न थालेपछि राजनेताहरुले के ठेक्कापट्टा गर्नुपर्ने हो अब ? भन्दा सभामा उपस्थित मतदाता खित्का छाडेर हाँसेका थिए ।


पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी प्रचारका लागि केन्द्रीय कलाकार टोली नै परिचालन भएको छ । प्रचण्डसँगै उनीहरु चुनावी सभामा गीत गाउँदै हिँडिरहेका छन् । माडीमा मंसिर १७ गते बृहद आमसभा आयोजना हुँदैछ । उक्त आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस