कोरोना खोप नयाँ चरणमा

पत्रपत्रिकाबाट

बुधबार, ०५ फागुन २०७७, ०७ : ०८
कोरोना खोप नयाँ चरणमा

नेपालमा यति छिटो कोरोनाविरुद्धको खोप आउँछ भन्नेमा चिकित्सकहरू नै विश्वस्त थिएनन् ।

सरकारले खोप ल्याउने प्रयास भइरहेको बताए पनि कहिले आउने ? भन्ने निश्चित थिएन तर सोचेभन्दा चाँडो खोप आएर प्रयोग हुन थालेपछि कोरोना महामारीविरुद्धको लडाइँमा नेपाल नयाँ युगमा प्रवेश गरेको छ । 

केही महिना पहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक कार्यक्रमबीच फागुनसम्म आइपुग्ने धारणा राखेका थिए तर सरकारले कोरोनाविरुद्धको खोप माघको पहिलो साता ल्याउन सफल भयो ।

पहिलो चरणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, सरसफाइकर्मीलाई मात्र खोप लगाएको सरकारले अब पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन सुरु गरेको छ । दोस्रो प्राथमिकतामा परेका पत्रकार, कूटनीतिक नियोग, राजदूतावासमा कार्यरत कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

गत हप्ता सोमबारदेखि शुक्रबारसम्म पत्रकार, कूटनीतिक नियोग र राजदूतावासका कर्मचारी गरी तीन हजार ४८० जनाले खोप लगाइसकेका छन् । गत सोमबारदेखि नेपाल सरकारका कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, पहिलो चरणमा छुटेका कर्मचारीलाई समेत खोप लगाउन सुरु गरिएको छ ।

पछिल्लो समय कोरोना खोपमा मानिसको विश्वास बढ्दै गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गोरखापत्रमा खबर छ ।