सेरम इन्स्टिच्युटलाई १० लाख खोप फिर्ता लैजान दक्षिण अफ्रिकाको आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १६ : १२
सेरम इन्स्टिच्युटलाई १० लाख खोप फिर्ता लैजान दक्षिण अफ्रिकाको आग्रह

रोयटर्स । दक्षिण अफ्रिकाले भारतको सेरम इन्स्टिच्युटलाई कोभिडको १० लाख डोज खोप फिर्ता लैजान भनेको छ । कम्पनीले दक्षिण अफ्रिकालाई फेब्रुअरीको सुरुवातमा सो खोपहरू पठाएको थियो ।

एक साताअघि मात्र यसले देशव्यापी खोप कार्यक्रममा अक्सफोर्ड एस्ट्राजेनेका खोपको प्रयोग स्थगित गर्ने बताएको थियो । र सेरम इन्स्टिच्युटले एस्ट्राजेनेकाकै खोप उत्पादन गरिरहेको छ अनि विश्वको प्रमुख आपूर्तिकर्तामा पर्छ । गत साता मात्र यसका दश लाख डोज अफ्रिका पुगेको थियो भने बाँकी पाँच लाख अबका केही सातामा आइपुग्ने तय भएको थियो । 

यससम्बन्धी सञ्चार एजेन्सी रोयटर्सले प्रश्न गर्दा कम्पनीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रालयले यसअघि सरकारले एस्ट्राजेनेकाका सबै खोप कि बिक्री गर्ने या साट्ने निर्णय गरेको बताएको थियो । एउटा क्लिनिकल ट्रायलमा यो खोपले अफ्रिकामा हावी नयाँ प्रकारको भाइरसविरुद्ध एकदम कम सुरक्षा मात्र दिन सक्ने पत्ता लागेपछि यसको प्रयोग नगर्ने निर्णय भएको थियो ।

खोप कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको दक्षिण अफ्रिकाले अहिले स्वास्थ्यकर्मीहरूलाई पहिले खोप लगाउने र यसमा जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको सुई प्रयोग गर्ने बताएको छ ।

उता विश्व स्वास्थ्य संगठनले चाहिँ सोमबार मात्र एस्ट्राजेनेका(अक्सफोर्डको खोपलाई आपत्‌कालीन प्रयोगका लागि मान्यता दिएको हो ।

प्रतिक्रिया दिनुहोस