रौतहट । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण रौतहटमा विभिन्न किसिमका घरेलु प्रविधि लोप हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिन तथा फलामका औजार हराउँदै गएका हुन् ।
करिब दुई दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि यहाँ यी घरेलु मेसिन विस्थापनमा परेका छन् । परापूर्वकालका मेसिन तथा औजारहरू एउटा मात्रै नभएर प्रायः सबै विस्थापित भइसकेका छन् । नेपाली समुदायमा यसका उदारहण प्रशस्तै छन् ।
तुलो ः विशेषतः जिल्लाको ग्रामीण भेगमा मासु जोख्नका लागि प्रयोग गरिने सामग्री हो । यो तुलो आजभोलि हराउँदै गएको छ । मासु तथा जोख्नयोग्य सामग्री तुलोबाट जोख्दा धार्नी, बिसौली, आठपोल आदिमा जोखेर हिसाब निकाल्ने गरिन्थ्यो । तर, आजभोलि आधुनिक सामग्रीका कारण यसको प्रयोग हुन छाडेको छ । तुलो प्रयोग त हुँदैन नै तर देख्न समेत पाइँदैन । तुलोजस्तै अर्को सामग्री झुलो चकमक पनि हो । यसको प्रयोग पहिला पहिला धेरै हुने गरेको थियो तर, आजभोलि देख्न समेत छाडेको छ ।
यो आगो निकाल्न (बाल्न) का लागि प्रयोग गरिने सामग्री हो । जसमा, दर्सिङ ढुंगा, फलामको टुक्रा, र केराको झुस प्रयोग गरिन्छ । दर्सिङ ढुंगा र फलामको टुक्रालाई घर्षण गराएर केराको झुस तथा नेपाली कागजमा आगो बालिन्छ । अहिले यो पनि हराउँदै गएको छ । आधुनिक सामग्रीहरू सलाई, लाइटर, ग्यास लगायतका सामग्रीले गर्दा यसको प्रयोग हुन छाडेको हो ।
डेली : डेलीलाई गोठको दराज भन्दा पनि फरक पर्दैन । डेली भन्नाले बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो भन्ने बुझिन्छ । डेली बाँसबाट बनेको हुन्छ । पशु चौपायालाई खुवाउनको लागि खेतबारीबाट घास लान डेलीको प्रयोग गरिन्थ्यो । डेलीमा नै घाँस राखेर टाउकोमाथि बोकेर घरसम्म ल्याउने गरिन्थ्यो । तर, आधुनिकतासँगै डेली पनि आजभोलि लोप भएको छ ।
धिरी एक प्रकारको पानी बोक्ने बाँसको भाँडो हो । परापूर्वकालमा पानी बोक्नका लागि यसलाई प्रयोग गरिन्थ्यो । कुनै एउटा ठूलो बाँसका आँखा खोलेर खिपेर बनाएपछि पानी बोक्ने काममा प्रयोग गरिने धिरी वर्तमान पुस्ताले प्रयोग गर्नु त परै जाओस् नाम सुन्दै अनौठो मान्छन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ फागुन २०७७, ०८ : २४
लेखकबाट थप