याङ्गुन । पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ । जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिएको हो । यसलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयासका रूपमा हेरेका छन् ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८० वर्षीया सुकीको सजायको स्वरूप परिवर्तन गरिएको उल्लेख गरिएको छ, तर उनलाई कहाँ राखिने भन्ने स्पष्ट पारिएको छैन । सार्वजनिक गरिएको एउटा तस्बिरमा उनी दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ । सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उनलाई राजधानी नेपिडोको कुनै सुरक्षित स्थानमा राखिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ ।
नेपिडोस्थित एक प्रहरी स्रोतले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको जानकारी दिएका छन् । उनका अनुसार ‘तोकिएको निवास’ पूर्ण रूपमा सुरक्षा निकायको नियन्त्रणमै रहनेछ । सुकीको सजाय कति बाँकी छ भन्नेबारे पनि सरकारी पक्षले खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ बैशाख २०८३, ११ : ४९
लेखकबाट थप