ब्राजिलमा देखिएको कोरोनाको नयाँ प्रकार तीन गुणा संक्रामक

एजेन्सी

शुक्रबार, ३० माघ २०७७, ११ : १०
ब्राजिलमा देखिएको कोरोनाको नयाँ प्रकार तीन गुणा संक्रामक

काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को ब्राजिलको अमेजनमा भेटिएका नयाँ प्रकार (भेरियन्ट) तीन गुणा बढी संक्रामक हुने गरेको पाइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार कोरोनाको नयाँ प्रकार निकै संक्रामक रहेको बताएको हो । यद्यपि मन्त्रालयले कोरोनाविरुद्धको खोप नयाँ प्रकारको लागि पनि प्रभावकारी देखिएको बताएको छ । मन्त्रालयले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण भने पेस गरेको छैन ।

ब्राजिलको मानौस सहरमा फैलिएको कोरोनाको नयाँ प्रकारबारे बढिरहेको आशंकाको बीचमा ब्राजिलले उक्त प्रकारको कोरोना निकै संक्रामक रहेको बताएको हो । मानौस ब्राजिलको जंगलमा रहेको सहर हो । स्वास्थ्यमन्त्री एडुआर्डो पाजुएल्लोले पछिल्लो समय मुलुकमा फैलिएको कोरोना संक्रमण अनपेक्षित भए पनि अहिले नियन्त्रणमा आएको बताएका छन् ।

स्वास्थ्यमन्त्री एडुआर्डोले संसदीय सुनुवाइको क्रममा मुलुकको योग्य जनसंख्यामध्ये आधालाई आगामी जुन महिनासम्म र बाँकीलाई यस वर्षको अन्तिमसम्म खोप पुर्‍याउने बताएका छन् ।

तीन साताअघि ब्राजिलले चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक र अक्सफोर्ड तथा एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोपबाट खोप कार्यक्रम सुरु गरेको थियो ।