आदिबासी जनजातिहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता छ : शेरबहादुर देउवा

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १५ : ०८
आदिबासी जनजातिहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता छ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिबासी जनजातिहरुलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस आदिबासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिबासी जनजाति संघले बिहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिबासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिबासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले नेपाली कांग्रेस पार्टीले आदिबासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताए । कांग्रेस समावेशी पार्टी भएपनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले भोली सरकार बनाउनुपर्ने अवस्थामा आदिबासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशन समेत दिए ।

सभापति देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधिन भएकाले यस बारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताए । चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै उहाँले आगामी दिनमा आउनसक्ने संसद पुर्नस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै चुनाव वा पुर्नस्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने बताए । प्रतिनिधि सभाको पुर्नस्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उनको भनाई छ ।

नेपाली कांग्रेसका सहमहामन्त्रि प्रकाशशरण महतले कम्युनिष्टहरुले निर्वाचन जितेसम्म नेपालमा समृद्धि नआउने बताउनुभयो । कम्युनिष्टले निर्वाचन जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तिकरण पनि नहुने उनकोे भनाई छ ।

सहमहामन्त्रि महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि मजबुद बनाउनुपर्ने बताए । नेपाली कांग्रेसले गरेको काम जनतामाझ पु¥याउन नसकेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस