राज्यविरुद्ध कसुरको आरोपमा रामकुमारी झाँक्री पक्राउ

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०७७, १३ : ०५
राज्यविरुद्ध कसुरको आरोपमा रामकुमारी झाँक्री पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो । 

नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । 

‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई’ भन्ने नारा लगाएका थिए ।  यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोप सरकारी पक्षको छ । पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ झाँक्रीको भनाई छ ।

‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौ । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’, उनले भनिन्, ‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदै छु । उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।  

प्रतिक्रिया दिनुहोस