प्रचण्डको ओलीलाई जवाफ : कस्तो हुन्छ सभा देख्नुभयो ?  सिंहदरबार र बालुवाटार घेर्न अर्को सभा गर्नेछौँ

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १६ : ४८
प्रचण्डको ओलीलाई जवाफ : कस्तो हुन्छ सभा देख्नुभयो ?  सिंहदरबार र बालुवाटार घेर्न अर्को सभा गर्नेछौँ

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई सभा कस्तो हुन्छ देख्नुभयो भन्दै जवाफ फर्काएका छन् । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई सभा कस्तो हुन्छ भनेर माघ २३ गते हामी देखाइदिन्छौँ भनेका थिए । त्यसैको जवाफमा अध्यक्ष प्रचण्डले ओलीलाई भने, ‘केपीजी देख्नुभयो देख्यौँ, सभा कस्तो हुन्छ हेर्नुहोस् हाम्रो सभा, देख्नभयो केपीजी ।’

काठमाडौँमा नेकपाको विरोध सभामा अध्यक्ष प्रचण्डले जनताको शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत भयो भने के हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘केपी ओलीले बनाएका दुई जना मन्त्री फर्कन मसँग अहिले वार्ता गरिरहेका छन् । केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन् ।

उनले केपी ओलीलाई राजीनामा दिएर वक्तव्य निकाल्न सुझाव दिए । उनले भने, ‘केपी ओली ठूलो अपराध गर्नुभयो । तुरुन्त राजीनामा दिएर वक्तव्य निकाल्नूस् । तपाइँ अझै निरङ्कुशतर्फ जाँदै हुनुहुन्छ ? आवश्यक परेमा सिंहदरबार र बालुवाटार घेर्नेछौँ ।’

अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली मेरो निर्वाचन क्षेत्र चितवनमा गएर माडीको अयोध्यामा राम जन्मेको हुन् प्रचण्ड किन भन्न डराएको भनेछन, कतिसम्म झूट बोल्न सकेको ? राम जन्मेका हुन् भनेर पहिला प्रमाणित गर्नुहोस् । मेरो निर्वाचन क्षेत्रमा राम जन्मेका हुन् भन्न म किन डराउँछु तर प्रमाणित हुनुपर्छ ।’ 

उनले ओलीलाई चुनौती दिए, ‘राम मन्दिर माडीको अयोध्यामा जन्मेका हुन् भनेर प्रमाणित गर्नूस् । मेरो क्षेत्रमा धार्मिक पर्यटकीय बन्छ भने मभन्दा खुसी अरु को हुनसक्छ, तर प्रमाणित हुनपर्छ ।’अध्यक्ष प्रचण्डले माधव नेपाल, झलनाथ खनाललगायतलाई अपमान गरेर ओलीले गल्ती गरेको बताए । उनले भने, ‘माधव र झलनाथजस्तो लिडरलाई यतिधेरै अपमान । प्रचण्डको कार्यकर्ता भन्दिने, पत्याउने पनि कस्तो ?’ 

केपीको नाटकको पर्दाफास भइसकेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले केपीले एकै दिन तीन जनालाई प्रधानमन्त्री बनाउने आश्वासन बाँडेर झूटको खेती गरेको बताए । उनले भने, ‘बिहान बोलाएर बामदेवलाई प्रधानमन्त्री बनाउँछु भन्ने, दिउँसो बोलाएर झलनाथलाई प्रधानमन्त्री बनाउँछु भन्ने बेलुका माधव नेपाललाई प्रधानमन्त्री बनाउने केपी ओलीको नाटकै हो ।’ अध्यक्ष प्रचण्डले आफूलाई कुर्ची र प्रधानमन्त्री नचाहिएको बताए । उनले भने, ‘मैले चिनेँ, तीन वर्षमा राम्रैसँग चिनेँ ।’

प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे । ‘यो उपस्थितिले अदालतलाई सहज भएको छ । संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न’ उनले भने ।


 

प्रतिक्रिया दिनुहोस