खुल्यो तातोपानी नाका

पत्रपत्रिकाबाट

बुधबार, २८ माघ २०७७, ०७ : १५
खुल्यो तातोपानी नाका

काठमाडौं । मितेरी पुलको मर्मतका लागि बन्द गरिएको नेपाल र चीनबीचको तातोपानी नाका तीन सातापछि खुलेको । भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीले नाका खुलेसँगै मङ्गलबार छ कन्टेनर चिनियाँ सामग्री नेपाल भित्रिएको जानकारी दिए । 

कोरोना भाइरस सङ्क्रमणको सन्त्रास, नाकाप्रति स्थानीयको फरक बुझाइलगायतका कारण पटक–पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतका लागि बन्द गरिएको २१ दिनपछि पुनः सुचारू भएको हो । 

चिनियाँ पक्षले नेपाल–चीन सीमाको मितेरी पुल मर्मतमा लागि २० दिनका लागि नाका बन्द गरेको थिया। चालू आर्थिक वर्ष ०७७÷७८ मा नेपाल–चीन बीचको मुख्य नाका तातोपानी भन्सार कार्यालयले ४० करोड रुपियाँ बराबरको राजस्व सङ्कलन गरेको छ । 

दुई अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको भन्सार कार्यालयले सामान आयात निर्यातमा नियमित नभएका कारण लक्ष्यअनुरुप राजस्व सङ्कलन हुन नसकेको जनाएको छ ।  वर्षाको समयमा बाढीपहिरोबाट क्षतिग्रस्त सडक सञ्चालनमा भएको ढिलाइले यस वर्षको राजस्व सङ्कलन अपेक्षाअनुसार हुन नसकेको कार्यालयले जनाएको छ । 

कोरोना भाइरस सङ्क्रमण जोखिम नियन्त्रण गर्न अपनाएका सावधानीले पनि पटक पटक नाका बन्द हुँदै खुल्दै गरेकोमा पछिल्लो पटक नेपाल–चीन जोड्ने मितेरी पुल मर्मतका लागि चिनियाँ पक्षले २० दिन सामान निर्यात रोकेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस