पाँच दिनमा बलात्कारका तीन घटना

पत्रपत्रिकाबाट

मंगलबार, २७ माघ २०७७, ०८ : ०७
पाँच दिनमा बलात्कारका तीन घटना

काठमाडौं । गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्।

माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया माघ २० गते २६ वर्षकी युवतीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा छानबिन भइरहेको छ।

पीडक परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए।

माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन्। बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन्।

बालिकाको परिवारले २२ गते जाहेरी दिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। माघ २४ गते सहिद लखन गाउँपालिका–७ का २५ वर्षीय युवक १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका छन्।

घरमा कोही नभएका बेला युवतीलाई ललाईफकाई बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा जाहेरी दिएको छ। ‘अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने। नागरिक दैनिकमा खबर छ ।