राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : कांग्रेस उपसभापति निधि

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, ११ : ११
राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : कांग्रेस उपसभापति निधि

वीरगन्ज ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने जिकिर गरेका छन् । 

कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गए ।

प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधिसभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा सहभागी कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरी सरकारले जनताले दिएको मतको अपमान गरेको बताए । उनले बहुमत प्राप्त भएको सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने संविधानमा कुनै व्यवस्था नभए पनि वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरी आमनेपाली जनताले दुई तिहाइ नजिक दिएको मतको अपमान गरेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस