कतारमा न्यूनतम तलब मार्चदेखि लागु हुने

पत्रपत्रिकाबाट

सोमबार, २६ माघ २०७७, ०७ : ५०
कतारमा न्यूनतम तलब मार्चदेखि लागु हुने

काठमाडौँ । कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्यान्वयन गर्नेछौं ।’

उनले रोजगारदाताले आफ्ना श्रमिकलाई बैंकमार्फत तलब दिनुपर्ने बाध्यकारी नियम बनाएको बताए । ‘यो तलब कार्यान्वयन गर्न तपाईंहरू ९नेपाली समुदाय० को विशेष भूमिका रहन्छ । तोकिएको तलब नपाएका कामदारले सहज रूपमा नेपाली भाषामै उजुरी दिन सक्ने गरी हामीले संयन्त्र बनाएका छौं । त्यस संयन्त्रमार्फत उजुरी दिन तपाईंहरू पनि प्रेरित गर्नुहोला,’ उनले भने ।

कतारले २०२० को कानुन नम्बर १७ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । घरेलु श्रमिकको हकमा पनि यो लागू हुने उनले बताए । उनका अनुसार तलब नपाउने श्रमिकले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति ९रिलिज पेपर० चाहिने छैन, अब रोजगारदाताले न्यूनतम तलब एक हजार, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ तर खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ । कान्तिपुर दैनिकमा खबर छ ।