उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीले एक नेपाली सहित ८ जनाको ज्यान गयो

एजेन्सी

सोमबार, २६ माघ २०७७, ०७ : ४२
उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीले एक नेपाली सहित ८ जनाको ज्यान गयो

नयाँदिल्ली । भारत स्थित उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् ।  चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले बताए ।

उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । ‘आठ जनाको शव फेला परेकामा एक जना नेपाली रहेको खुलेको छ, १२ जनाको जीवितै उद्धार गरिएको छ,’ सिंहले भने । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ५४ जना हराइरहेको उनले बताए ।

दुई दिनअघि उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको र त्यही कारणले आइतबार बिहान करिब १० बजे आसपासमा हिमनदी फुटेको बताइएको छ । हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्‍याएको छ । हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बाढीले जोशीमठमा एउटा पुल पनि बगाएको छ ।

बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसमा पनि रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा बढी क्षति भएको छ । परियोजनाको त बाँध नै भत्किएको छ । हराइरहेकामध्ये अधिकांश यही परियोजनामा काम गर्ने मजदुर भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तपोवन क्षेत्रमा सञ्चालनमा रहेको विष्णुगाढ जलविद्युत् परियोजनामा पनि क्षति पुगेको छ । परियोजनाको सुरुङमा फसेका १६ जनालाई इन्डो–तिब्बत बोर्डर पुलिसले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस