यसरी थाहा पाउनुहोस्, तपार्इृको शरीरमा आवश्यक पानीको मात्रा पुगे-नपुगेको

बुधबार, ०७ चैत्र २०७४, १० : २५
यसरी थाहा पाउनुहोस्, तपार्इृको शरीरमा आवश्यक पानीको मात्रा पुगे-नपुगेको

जब हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ तब शरीरले पानी कम हुनुको लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ ।

हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउँनु पर्छ । तर, हामीलाई थाहा हुँदाहुदै पनि हामी पर्याप्त मात्रामा पानी पिउदैनौँ । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं ।

शरीरमा आवश्यक पानीको मात्रा पुगे/नपुगेको यसरी थाहा पाउनुहोस्:

शरीरको वजन बढ्नु
शरीरको वजन बढ्दै जनाले तपाईंले पर्याप्त मात्रामा पानी पिइरहनु भएको छैन भन्ने जनाउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् ।

र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।

यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् ।

तपाईंले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न ।

अपचको समस्या समाधान
तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । शरीरमा पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता पर्छ ।

दीर्घ कब्जियत÷अपचको कारण नै पानीको कमी हो । पाचन क्रिया सहज बनाउन र कब्जियत÷अपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु पर्छ ।

पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । पानी पिउँदा पनि कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
 

मुत्रनलीको संक्रमण
मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ । मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन ।

शरीरमा पानीको कमी हुनुको लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।
 

झर्किने र झन्किने
तपाईं जतिबेला पनि झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ ।

तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक÷मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् । हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ ।

मांसपेशी बाउँडिने
मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् ।

तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी ब ाउँडिने गर्छ । विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् ।

हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ । डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ÷पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ । पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थ ाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला ।

छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु
जाडो मौसममा छाला सुख्खा हुनु सामान्य हो । तर, यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने पानीको कमी भएर हुन सक्छ ।

त्यसैले यस्तो बेलामा पानी पिउँनु पर्छ । पानीको कमी भएपछि छालाले स्वाभाविक चमक÷सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।

मुख सुक्नु र धेरै तिर्खा लाग्नु
शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी पिइहाल्नु पर्छ ।

यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।
टाउको दुख्नु
शरीरमा पानीको मात्रा कम हुनुको अर्को लक्षण टाउको दुख्नु हो । चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ ।

यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जाने हुन्छ । पर्याप्त पानी पिए पछि भने यी समस्या हट्ने गर्छ ।
नेस्नल हेडेक फाउन्डेसन (एनएचएफ)का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो ।

साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।

सधैं थकित
दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ ।

थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर, दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस