सुगम छाडेर किन धमाधम दुर्गम रोज्दैछन् डाक्टर ?

पत्रपत्रिकाबाट

बुधबार, ०७ चैत्र २०७४, ०६ : ५१
सुगम छाडेर किन धमाधम दुर्गम रोज्दैछन्  डाक्टर ?

काठमाडौँ । चैत-दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् । लोकसेवा पास गरेर आउने मेडिकल अधिकृत (आठौँ तह)ले दुर्गममा पोस्टिङ माग्न थालेपछि सुगमका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी अपूरो भएको छ । भर्खरै लोकसेवाबाट मेडिकल अधिकृतमा पास भएर आएका १०२ डाक्टरले दुर्गममा मात्रै पोस्टिङ माग्दा स्वास्थ्य मन्त्रालयलाई दरबन्दी मिलानमा हम्मेहम्मे परेको थियो । अन्तिममा मेरिट लिस्टका आधारमा पोस्टिङ गरिएको छ ।

चिकित्सकहरू सुगममा केन्द्रित हुँदा दुर्गमका नागरिकले स्वास्थ्य उपचार नपाएको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन परिमार्जन गरेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुर्गमका जनताको सेवामा चिकित्सक खटाउने प्रबन्ध मिलाउन डा. पदमबहादुर चन्दको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरेका थिए ।
थापाले कमिटीको प्रतिवेदनका आधारमा नीति परिमार्जन गरेका थिए । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरू दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेका हुन्, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस