साल्ट ट्रेडिङ्गले फेब्रुअरीलाई ‘आयोडिन मन्थ’को रुपमा मनाउने

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १८ : १४
साल्ट ट्रेडिङ्गले फेब्रुअरीलाई ‘आयोडिन मन्थ’को रुपमा मनाउने

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आजबाट आयोडिनयुक्त नुनको प्रवर्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान संचालन गरेको छ ।

कर्पोरेशनले आयोडिनको कमीबाट हुने समस्या निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यअनुरुप फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना को रुपमा मनाउने भएको हो । कर्पोरेशनले माघ १९ गते अर्थात फेब्रुअरी १ देखि महिनाभर ‘आयोडिन मन्थ’को रुपमा मनाउन लागिएको जनाएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालले सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’को घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गर्दै आएको छ । आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिवल गोइटर १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको नदेखिएको कपोरेशनले जनाएको छ । 

नेपाल सरकारले दिएको निर्देशनअनुसार कर्पोरेशनले आयोडिनयुक्त नुनको आपुर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको थियो । कर्पोरेशनले सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको बताएको छ । 

सन् २०१६ मा नेपाल सरकारले गरेको एनडीएचएस सर्वेअनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाईएको छ ।अतः यस उपलब्धीलाई जोगाई राख्न सम्वन्धित सवै निकायहरुको ध्यान दिनु जरुरी देखिएको कर्पोरेशनले जनाएको छ ।

यस वर्ष कोभिड १९का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म कार्यक्रमहरु गर्ने कर्पोरेशनले जनाएको छ । त्यसैगरी कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ।संस्था, स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्था संग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस