राप्ती नदीको ठाउँठाउँमा बाढीमापन यन्त्र जडान

प्रकाश सिग्देल

आइतबार, १८ माघ २०७७, १६ : ३१
राप्ती नदीको ठाउँठाउँमा बाढीमापन यन्त्र जडान

चितवन । मेड नेपाल चितवनले राप्ती नदीका विभिन्न ठाउँमा बाढीमापन यन्त्र जडान गरेको छ । 

पानीको सतह बढेसंगै आममानिसमा बाढीको जोखिमको बिषयमा सहजै ज्ञान प्रदान गरी नागरिकलाई सुरक्षित स्थानमा पठाउन सहज हुने उद्देश्य राखेर बाढीमापन यन्त्र  जडान गरिएको मेड नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारीले बताए । 

लुथ्रन ओल्ड फेडेरेसनको आर्थिक सहयोगमा गत वर्ष ३ ठाउँमा र यो वर्ष पनि राप्ती नगरपालिका १ नयाँबस्ती, रत्ननगर नगरपालिकाको सौराहा र भरतपुर महानगरको पटिहानी छितामाईमा बाढीमापन यन्त्र जडान गरिएको उनको भनाई छ ।  

मकवानपुरदेखि बगेर आउने राप्ती नदीमा पानीको बहाव बढी हुँदा चितवनको सौराहादेखि मेघौली गोलाघाटसम्मको तटीय क्षेत्रमा डुवान तथा कटानको कारण निकै ठुलो क्षति हुने भएकाले माथिल्लो तटीय क्षेत्रमा पानीको सतह बढ्नासाथ तल्लो क्षेत्रमा त्यसको जोखिमको पूर्वमूल्यांकंन गरी सचेत रहनका लागि बाढीमापन यन्त्रले ठुलो काम गर्ने भण्डारी बताउँछन् । 

स्थानीय क्षेत्रमा बिपद ब्यवस्थापन समिति समेत निर्माण गरी उनीहरुलाई बिभिन्न किसिमका उद्धार सामग्रीसहित तालिम समेत दिएर बिपदको जोखिम न्यूनीकरणका काममा अग्रसर बनाइएको पनि भण्डारीले बताए । अहिले जिल्लामा ११ वटा बिपद ब्यवस्थापन समिति निर्माण गरी उनीहरुलाई बिपदको जोखिम न्यूनीकरणमा परिचालनसंगै जीविकोपार्जनमा सहजताका लागि पनि कार्यक्रम गरिएको भण्डारी बताउँछन् ।

लुथ्रन ओल्ड फेडेरेसनले चितवनमा मेड नेपालसंग सहकार्य गरी तटीय क्षेत्रमा बाढीको प्रकोपबाट हुने क्षति रोक्न कार्यक्रम संचालन गरेको र संगै तटीय क्षेत्रका मानिसको जीविकोपार्जनका लागि बिउपुँजी सहयोगसंगै बिभिन्न तालिमहरु समेत प्रदान गर्ने गरिएको लुथ्रन ओल्ड फेडेरेसनका कार्यक्रम संयोजक अनोज बस्नेतले बताए । 

आफुहरुले नेपाल, भारत र बंगलादेशमा यो परियोजना सञ्चालन गरेको उनी बताउँछन् । राप्ती नदी नारायणीहुँदै भारतमा गंगा र बंगलादेशमा पद्मा नदीमा मिसिएकाले तिनै नदीको तटीय क्षेत्रमा बिपद ब्यवस्थापनमा आफुहरुले काम गरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस