इजलासमा संविधानका मस्यौदाकारले भने : ‘संसद् जिउँदो जाग्दो छ श्रीमान्’

पत्रपत्रिकाबाट

शनिबार, १७ माघ २०७७, ०८ : १६
इजलासमा संविधानका मस्यौदाकारले भने : ‘संसद् जिउँदो जाग्दो छ श्रीमान्’

काठमाडौँ । नेपालको संविधानका मस्यौदारले संसद् जिउँदो जाग्दो अवस्थामा रहेको बताएका छन् । विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नराखिएको बताएका छन् ।

कानुन व्यवसायीसमेत रहेका निवेदक पोखरेलले भने,–‘हामी निदाएको अवस्था हो । हामी १७ गते बिउँझिने थियौं । मृत्यु नै नभएको मान्छेलाई मृतक घोषणा गरिएको छ । संसद् जिउँदो(जाग्दो छ श्रीमान् । यो संविधानको मस्यौदाकारमध्ये म पनि हो । संसद् विघटनको कुरा कुरा कहीँ राखिएको छैन ।’

नेकपा दाहाल–नेपाल पक्षका नेतासमेत रहेका पोखरेलले प्रधानमन्त्रीलाई कुनै पनि विषयमा प्रतिनिधिसभाले अप्ठ्यारो नपारेको बताएका छन् । ‘प्रतिनिधिसभा जिँउँदै छँदै निदाइरहेको बेलामा जाग्ने १२ दिन अगाडि प्रधानमन्त्रीले मृत भयो भनेर घोषणा गर्नुभयो,’ पोखरेलले भने । प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी हुने विश्वासप्रति अलिकित पनि रुची र सम्मान नदेखाएको पनि उनले बताए । ‘प्रधानमन्त्रीलाई सुत्ने बेला संसद् विघटन गर्नुपर्छ लाग्यो र बिहान विघटन गर्नुभयो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले २०१७ पुस १ गतेको शब्द सापटी लिएर आफ्ना कदमलाई सही ठहर्‍याउन खोजेको पनि पोखरेलको भनाइ थियो । ‘उहाँले राष्ट्रहितका लागि भन्नुभएको छ । के हो राष्ट्रहित जनहित ? कोभिड नियन्त्रण गर्नका लागि दुई तिहाइ चाहियो ?
हामी सांसदले ११ महिनाको तलब बुझायौं । तर उहाँले राजेन्द्र महतोको पार्टी कसरी विभाजन गर्न सकिन्छ भनेर अध्यादेश ल्याउनुभयो, पोखरेलले बहसका क्रममा भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस