काठमाडौँ । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी) ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ ।
पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार फागुन पहिलो हप्ता सुधारको काम सकिनेछ । सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिनेछ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्नुहुन्छ, “फागुन पहिलो हप्ता सुधारका काम सबै सकिन्छ, त्यसपछि दुई महिना सुरुङ टेस्टिङ गर्न लाग्छ अनि मात्र पानी आउँछ । ”
मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट) को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । हाल प्राविधिक टोलीले दिएको सुुझावअनुसार थप काम भइरहेको खत्रीले जानकारी दिनुुभयो । उहाँका अनुसार टोलीले सुरुङ फिनिसिङमा थप बलियो गरी काम गर्नुपर्नेलगायतका प्राविधिक काम गर्न सिफारिस गरेको छ ।
खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “एडीबीको प्राविधिक टोलीले सुरुङको बेसलाइनको सुधार, भित्ता थप बलियो बनाउनुपर्नेलगायत सुरुङभित्रका सानातिना सुुधार गर्नुपर्ने सुुझाव दिएको छ । रिपोर्टले दिएका कुरा हामी अहिल्यै सम्बोधन गरेर जाने गरी काम भइरहेको छ । करिब एक महिनामा सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरणको प्रक्रिया अघि बढ्छ । ”
मेलम्ची खानेपानी विकास समिति प्रवेशद्वार जडान गरी पानी पथान्तरणको तयारीमा रहेका बेला एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर पुसमा एक हप्ता अनुगमन गराएको थियो । समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ माघ २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने