ग्रीन लाइफ र महालक्ष्मी लाईफको आइपिओ खुल्दै

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, १२ : ४६
ग्रीन लाइफ र महालक्ष्मी लाईफको आइपिओ खुल्दै

काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावरको माघ २३ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्री खुला गर्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाइ बिक्री गरेर बाँकी रहेको सेयर थप गरेर सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको हो ।

६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा फागुन ७ गतेसम्म खुला रहनेछ । 

यसैबिच महालक्ष्मी लाइफ इन्स्यारेन्सले पनि साधारण सेयर आईपीओ निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ ।

कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा ५ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ । सोहि साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने महालक्ष्मीले जानकारी दिएको छ ।

नयाँ जीवन बिमा कम्पनीहरुले मध्ये रिलायन्स लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सले आर्यपीओ जारी गरिसकेका छन् । बाकी ८ वटा जीवन बिमा कम्पनीहरुले आईपीओ जारी गर्नुपर्नेछ । महालक्ष्मी लाइफ कान्छो बिमा कम्पनी भए पनि कम्पनीका सीईओ रमेशकुमार भट्टराई भने बिमा कम्पनीक सबैभन्दा पुराना सीईओ हुन् ।