एनआरएनए विशेष अधिवेशन

संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छः  मन्त्री ज्ञवाली

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १४ : ०७
संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छः  मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै, उनले भने,  संकटको  यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।

ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुशी व्यक्त गरे । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले  नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए । उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख गरे। गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्नेमा दिए।  

विशेष महाधिवेशनलाई  सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको  पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए। विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व  प्रशंसायोग्य भएको उनको भनाई थियो ।
 राजनीतिक लडाँईमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादन मूलक क्षेत्रमा  लगानी ल्याउन जोड दिनु पर्ने उनले बताए ।

विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा,  दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए। उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने उनको भनाई थियो ।

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।  

विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले  गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए। उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गरे ।  उनले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि ल्याएको हुने बताए । उनले गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र  संघको शाख बचाई राख्न सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियान अनुसार सबैलाई संस्थाको चामको लागि एकताको लागि आव्हान गरे  । उनले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गरे ।  भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए ।

कार्यक्रममा शुभकानमा मन्तव्य दिदै गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरुलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । उनले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिक रुपमा  हाम्रो भन्ने भावनाले अघि बढ्नु पर्नेमा जोड दिए  ।

महाधिवेशनमा संघका सल्लाहकारहरु कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

भर्चुअल रुपमै दुई दिनसम्म चल्ने संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रको सञ्चालन संघका महासचिव डा. हेम राज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका थिए ।