एनआरएनए महासचिवमा रामशरण सिम्खडाले उम्मेदवारी दिने

सफल खबर संवाददाता

शनिबार, ०९ फागुन २०८२, ०६ : ५६
एनआरएनए महासचिवमा रामशरण सिम्खडाले उम्मेदवारी दिने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा (बेलायत) ले १२औँ महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने भएका छन् । एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुँदै छ । 

हाल उपाध्यक्ष भए पनि संस्थाको पुनर्संरचना र सबैको साझा बनाउने भिजनसहित उनले गत महाधिवेशनमा भएको सहमति अनुसार महासचिवमा उम्मेदवारी दिन लागेका हुन् ।  तत् अवस्थामा उपमहासचिवमा कार्यरत सिम्खडा महासचिवका प्रबल दाबेदार भए पनि ११औँ महाधिवेशनमा टिम मिलाउनैकै लागी उनी उपाध्यक्ष भएका थिए ।
 
विगतमा भएको टुटफुटका कारणले उत्पन्न समस्याका बिच एनआरएनएलाई पहिलेको जस्तै प्रतिष्ठित अवस्थामा फर्काउन ठोस कार्ययोजना र एजेन्डासहित उनी चुनावी मैदानमा होमिन लागेको बताइएको छ । केही महिनाअघि मात्रै दुई समूहमा रहेको एनआरएनए एकताबद्ध भएर महाधिवेशन गर्ने समझदारी भएको थियो । सोही समझदारीअनुसार एनआरएनएको महाधिवेशन हुँदै गर्दा संस्थाको महासचिवको रूपमा प्रभावकारी काम गर्ने योजनाका साथ आफू मैदानमा होमिन लागेको उनले बताए । सिम्खडा संस्थाको आन्तरिक विषयहरू, विधान र संस्थागत विषयको जानकार मानिन्छन् ।

गत नोभेम्बरमा भएको बृहद एकताको लागि गठित कार्यदलमा रहेर उनले यसका लागि निर्णायक भूमिका खेलेका थिए । एकतालाई तार्किक निष्कर्षमा पुर्‍याउन र संस्था पारदर्शी एवं जवाफदेही बनाउने कार्ययोजनाको उनले निकटस्थहरूसँग छलफल तीव्र बनाएका छन् । आगामी मंगलवार २४ जनवरी २०२२६ का दिन भर्जुअल माध्यमबाट आफ्नो संकल्प-पत्र सहित उम्मेदवारी घोषणा गर्न लागेका हुन !

उनी प्रवासका संघ संगठन र समग्र एनआरएनएभित्रै राम्रो सम्बन्ध भएका व्यक्तित्वका रूपमा चिनिन्छन् । यद्यपि एनआरएनएमा उनले कुन टिमबाट महासचिव लड्न लागेको भन्नेबारे खुलाएका छैनन् । हालसम्म एनआरएनएको अध्यक्षमा रोबिन शेरचन र हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । शेरचन र शर्मा दुवै उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा सिम्खडाले चाहिँ महासचिव लड्न लागेका हुन्  । सिम्खडाले आफू पदमा भन्दा पनि नतिजामा विश्वास राख्ने भएकाले महासचिवमा इच्छा राखेको बताए । 

उनी एनआरएनए एनसिसीको सदस्यबाट सचिव हुँदै आईसीसी यसअघि नै उपमहासचिव भइसकेका व्यक्ति हुन् । एनआरएनएभित्र उनी स्पष्ट वक्ताका रूपमा समेत चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस