माडीमा पुल निर्माण गर्ने ठेकेदारले राजस्व नतिरेपछि निकुञ्जले गर्यो खबरदारी

प्रकाश सिग्देल

शनिबार, १० माघ २०७७, १२ : ३८
माडीमा पुल निर्माण गर्ने ठेकेदारले राजस्व नतिरेपछि निकुञ्जले गर्यो खबरदारी

चितवन । माडी नगरपालिकाभित्र पुल निर्माणको काम रोकेको भन्ने हल्ला भ्रामक भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निर्माण ब्यवसायीले ईआईए पनि नगरेको, नदीजन्य पदार्थको राजस्व पनि नतिरेको र सहमति पनि नलिएकोेले सहमति लिएर प्रक्रिया पूरा गरेर काम गर्नुहोस् भनेर निर्माण ब्यवसायीलाई भनेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । 

माडीमा बन्दै गरेका ११ वटा पुलमध्ये ३ वटा मात्रै ईआईए गरेको र बाँकीको पनि प्रक्रिया पूरा गरेर काम गर्नुहोस्, नदीजन्य पदार्थको राजस्व तिर्नुहोस् भन्दा अनावश्यक हल्ला गरिएको उनको भनाई छ ।

जसले काम गरे पनि सरकारी नियम पुर्याएर गर्नु पर्ने र प्रक्रिया पूरा गर, राजस्व बुझाऊ भन्दा अनावश्यक रुपमा प्रचार गरी भ्रम सृजना गरी प्रधानमन्त्रीमाथि दोषारोपण गर्नु तर्कसंगत नभएको उनले बताए । 

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले पनि पुल निर्माण रोकिएको बिषय बाहिर हल्लामा आएजस्तो नभएको बताए । निर्माण कम्पनीलाई निकुञ्जले आवश्यक डकुमेन्ट पूरा गरी काम गर्नु भनेर निकुञ्ज प्रशासनले भन्नु अस्वाभाविक नभएको उनले बताए । ढकालले भने, ‘शुक्रबार निकुञ्जले निर्माण ब्यवसायीलाई राजस्व तिर्नु, आवश्यक डकुमेन्ट निकुञ्जमा पेश गरेर सहमति लिएर काम गर्नु भनेको भन्ने मैले जानकारी पाएँ । नगरपालिकाले समन्वय गरेर आइतबार कागजहरु पेश गरेर काम सुरु भइसक्ने कुरामा म विश्वस्त छु ।’

निर्माण ब्यवसायीले पनि तिर्नु पर्ने राजस्व तिर्नु पर्ने र ईआईएको हकमा सबै खोलाको ईआईए भइसकेको र त्यसको कागजात नगरपालिकामा रहेकाले त्यो पनि निकुञ्जलाई बुझाइने उनको भनाई छ । कामै नहुने स्थिति अहिले नभएको र निकुञ्जले कागजात माग्ने कुरा स्वाभाविक भएकोले यसलाई अन्यथा मान्न नहुने उनी बताउँछन् । ठुला खोलाहरुको ईआईए पहिल्यै गरेको र केही साना खोलाहरुको ईआईए गर्न नपर्ने देखिएको हुँदा काममा अवरोध नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस