प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको तेस्रो जित

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १७ : ४४
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको तेस्रो जित

सांकेतिक तस्वीर

काठमाडौँ । पृथु बास्कोटाको अर्धसतकको मद्दतमा बागमती प्रदेशले प्रदेश–२ माथि ६ विकेट जित निकाल्दै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बागमती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भयो । बागमतीका पृथु बास्कोटा ५३ रनमा नटआउट रहे ।

विभात्सु थापा अर्धसतक बनाउन तीन रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे । इसान पाण्डे हरिशंकर शाहको बलमा बोल्ड हुँदा उनको नाममा दुई किवेट रह्यो । यस्तै विशाल सुस्लिङ र कुमार थापाले एक÷एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो । ७ विकेट गुमाउँदा ६९ रन जोडेको प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६६ रनको पारी खेल्दै धरमराएको इनिङलाई सम्हालेका थिए । राहुल प्रताप सिंहले २२ रनको योगदान गर्दा कुमार थापाले २२ रन जोडे ।

कप्तान सुरज कुर्मीले १३ रन जोड्दा सुधिर चौधरीले १५ रनको पारी खेल्दै पवेलियन फर्किए । बागमति प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट निकल्दा रामनरेश गिरिले २ तथा नन्दन यादव, विपिन आर्चाय र तिलक भण्डारीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।

जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । समूह ‘बी’ ले अन्तिम चारको ढोका बलियो बनाएको छ । शीर्ष स्थानको बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश–२ को यो लगातार दोस्रो हार हो । प्रदेश–२ ले तालिका अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस