उखु किसान फेरी आन्दोलित...

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ माघ २०७७, ०७ : ५१
उखु किसान फेरी आन्दोलित...

काठमाडौँ । कसै गरे पनि उखुको बक्यौता रकम सबै नपाएपछि उखु किसान फेरि आन्दोलित बनेका छन् । सरकारसँग भएको दोस्रो पटकको सहमतिअनुसार उखुको बक्यौता सबै भुक्तानी नपाएको भन्दै किसानले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

गत पुस १३ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संघर्ष समितिबीच भएको सम्झौतामा २१ दिनभित्र बक्यौता उपलब्ध गराउने सहमति भएको थियो । सम्झौताको समयसम्म सम्पूर्ण रकम भुक्तानी नभएपछि संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको हो ।

माघ १० देखि फागुन ७ सम्म किसान जागरण अभियान चलाउने, फागुन ८ देखि १४ सम्म कोलोपट्टी बाँधेर खेतमा काम गर्ने र फागुन १५ देखि २१ सम्म एक छाक भोकै बसेर खेतमा काम गर्ने संघर्ष समितिले जनाएको छ । यस अवधिमा पनि भुक्तानी नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिका सचिव हरिश्याम रायले बताए ।

उद्योग मन्त्रालयका अनुसार माघ ५ सम्म चिनी उद्योगीले ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । थप ८ करोड १ लाख रुपैयाँ सरकारको नियन्त्रणमा आइसकेकाले किसानले छिट्टै प्राप्त गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयको दाबीमा किसान भने ढुक्क छैनन् । उनीहरूले कुन किसानले कति रकम पाए, त्यसको विवरण सार्वजनिक गर्नुपर्ने बताउँदै आएका छन् ।

‘एकातिर मन्त्रालयले समय सीमाभित्र सबै भुक्तानी गराउन सकेन । अर्कोतिर कुन किसानलाई कति रकम उद्योगीबाट भुक्तानी हुनुपर्ने हो र कति पाइसके भन्ने विवरण पनि आएन,’ उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र कृषक रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले दिएको मौखिक सूचनाबाट सन्देह, शंका तथा उपशंका उब्जिएको छ ।

हामी किसान विश्वस्त हुन सकेका छैनौं । किसानको सम्पूर्ण रकम किसानहरूको खातामार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं सप्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म हाम्रो न्यायिक संघर्षको आन्दोलन जारी रहनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस