रामबहादुर थापा (बादल) ले आफ्नै समुहका पत्रकार नेतालाई नै भेट नदिएपछि....

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, ०९ : ०९
रामबहादुर थापा (बादल) ले आफ्नै समुहका पत्रकार नेतालाई नै भेट नदिएपछि....

काठमाडौं । नेकपा विभाजनसँगै उसका जनवर्गीय संगठन तथा पेशागत संगठनमा पनि विभाजनको लहर शुरु भएको छ । नेता कार्यकर्ताहरुको कित्ताकाँट तिव्रतामा भईरहेको छ । त्यही क्रममा पत्रकारहरुको संगठन प्रेस संगठन नेपालमा पनि विभाजनको असर परेको छ ।

प्रचण्ड नेपाल पक्षले पत्रकारहरुको संगठनको दोश्रो राष्ट्रिय भेला माघ ६ गते काठमाडौंमा भब्य रुपमा सफल बनाएसँगै ओली पक्षले पनि आफु निकटको भेला आजको लागि तय गरेका छन् । पत्रकार संगठनको संयोजक महेश्वर दाहाल प्रचण्ड नेपाल समुहमा छन भने सहसंयोजक रहेका गणेश बस्नेत ओली खेमामा छन् ।

ओली खेमाले आजको कार्यक्रममा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतका नेतालाई सहभागी गराएर भेला आयोजना गर्न लागेका हुन् । भेलाबाटै संगठन पूर्नगठन गर्ने, सहसंयोजक रहेका बस्नेतलाई संयोजक बनाउने र सहसंयोजकको जिम्मेवारी अर्का नेतालाई तोक्ने गरी संगठनको फर्मेसनको तयारीमा समेत यो पक्ष रहेको छ ।

त्यही आधारमा गृहमन्त्री रामबहादुर थापा (बादल) लाई निम्तो दिन गणेश बस्नेत, गणेश पाण्डे लगायतका नेताहरु बुधबार बिहान बादलको पूल्चोक स्थित मन्त्री क्वार्टरमा पुगेका थिए । बादलसँग भेटघाट पनि गर्ने र कार्यक्रमको निम्तो पनि दिने भन्दै पुगेका बस्नेत नेतृत्वको टोलीलाई गृहमन्त्रीले नै आफ्नै क्वार्टरमा पुग्दा सम्म पनि भेट नदिई त्यसै पठाईदिएको चर्चाले अहिले ओली खेमाका पत्रकारहरुमा हंगामा मच्चिएको छ । बस्नेतले गृहमन्त्रीले हामीलाई क्वार्टरमै पुग्दा पनि भेट नदिने भन्दै हिड्न थालेको स्रोतले बताएको छ । 

बादलले भने जनवर्गीय संगठनको समेत जिम्मेवारी हेर्ने जिम्मा स्थायी समिति सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीको भएकोले उतै भेट गर्न र रायमाझीकै निर्देशन अनुसारको काम गर्न निर्देशन गर्दै भेट नै नदिई फर्काईदिएको स्रोतले बताएको छ ।

उर्जामन्त्री रायमाझी भेट्न पुगेका यही टोलीलाई रायमाझीले पनि आफुसँग सल्लाह नगरी बैठक र भेला राख्ने काम गरेको भन्दै असन्तुष्टि जनाएको स्रोतले बताएको छ । त्यसपछि रायमाझीले नेतृत्व चयनका विषय भेलामा नहुने र मात्र त्यो प्रशिक्षणको भेला मात्र बनाउन बस्नेत लगायतको टोलीलाई निर्देशन गरेको स्रोतले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस