मेड नेपालद्वारा बाढीको उच्च जोखिममा रहेका समुदायबीच जीविकोपार्जन कार्यक्रम

प्रकाश सिग्देल

बुधबार, ०७ माघ २०७७, १३ : ५१
मेड नेपालद्वारा बाढीको उच्च जोखिममा रहेका समुदायबीच जीविकोपार्जन कार्यक्रम

चितवन । खैरहनी नगरपालिका वडा नम्वर १० कठार खैरघारी बिपद ब्यवस्थापन समितिको अध्यक्ष देवका रेग्मी अहिले निकै खुसी छिन् । टोल छिमेक समुदायका सबै दिदी बहिनी संगठित भएर समुहमा आवद्ध भई सबै जनाले ब्यावसायिक रुपमा उद्यम गर्न  थालेपछि आफुलाई निकै खुसी लागेको उनी बताउँछिन् । 

गाउँघरमा दिनभरि एकले अर्काको कुरा काटेर बिताएको समय अब उद्यमशिलताका लागि लगाउन पाउँदा सबै महिला दिदीबहिनी तथा दाजुभाइ खुसी भएको उनले बताइन् । मेड नेपाल नामक संस्थाले स्थानीय समुदायको आर्थिक विकासका लागि ३ लाख बिउ पुँजी सहित कृषि र पशुपालनमा तालिम समेत प्रदान गरेपछि अहिले स्थानीय महिलाहरु धमाधम कृषि र पशुपालनमा लागेका छन् । आफुहरुलाई मेड नेपालले निकै ठुलो सहयोग गरेको रेग्मीको  भनाई छ ।

मेड नेपालले बाढीको उच्च जोखिममा रहेका समुदायलाई जीविकोपार्जनका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पुर्वी चितवनको खैरहनी नगरपालिकाको १३, १२, १०, ११ वडाका राप्ती नदीको तटीय क्षेत्रका बिपन्न समुदाय र भरतपुर महानगरको २८ नम्वर वडाको नारायणी नदीको तटीय क्षेत्रका समुदायका लागि जीविकोपार्जन कार्यक्रम अन्तर्गत मेड नेपालले लुथ्र्रन ओल्ड फेडेरेसनको आर्थिक सहयोगमा केहि रकम बिउ पुँजी दिएर उद्यमशिलताका बिभिन्न तालिम समेत प्रदान गरेको मेड नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारीले बताए ।

तटीय क्षेत्रका स्थानीयको जीविकोपार्जन कार्यक्रम अन्तर्गत चितवनको खैरहनी नगरपालिकाको ४ वटा वडा र भरतपुर महानगरको १ वटा वडाका लक्षित समुदायका स्थानीयलाई बिभिन्न समुहमा बिभाजन गरेर उनीहरुलाई प्रति समुह ३ देखि ३ लाख ५० हजार रुपैयाँसम्म रकम बिउ पुँजीको रुपमा सहयोग गरी स्थानीयको जीवन बिकासमा सहजता प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिएको मेड नेपालकी कार्यक्रम संयोजक रमिता महतो बताउँछिन् ।

भरतपुर महानगर २८ मा ३ वटा समुह र पुर्वी चितवन खैरहनी नगरपालिकाका ४ वटा वडामा ८ वटा समुह बनाएर ११ वटा समुहमा अहिले काम भइराखेको उनको भनाई छ । १ वटा समुहमा २० देखि ३५ जनासम्म सदस्य रहने र उनीहरुले बिउ पुँजी अन्तर्गत पाएको पैसा समुहबाट निकै थोरै ब्याजमा ऋण लिने र त्यही ऋणबाट पशुपालन कृषि वा अरु के गर्न चाहन्छन् त्यही ब्यवसाय गर्न सक्ने महतोको भनाई छ ।

समुहका सदस्यले जे काम गर्न चाहन्छन् उनीहरुलाई त्यही कामका लागि मेड नेपालले तालिम समेत दिने गरेको महतोले बताइन् । अहिले पुर्वी चितवनको खैरहनी नगरपालिका १० कठार र १३ को हर्नरीमा समुहका सदस्यहरुलाई पशुपालन तथा तरकारी खेती तालिम प्रदान भईराखेको छ ।  सदस्यले मागे बमोजिमको तालिम बिज्ञहरुबाट सञ्चालन गरिएको मेड नेपालका सुदर्शन ढुंगानाले बताए ।

बाढीको उच्च जोखिमा रहेका समुदायलाई जीविकोपार्जनका लागि केही रकम दिने र त्यसलाई बिउ पुँजीका रुपमा परिचालन गर्ने उद्देश्य अनुरुप समुदाय स्तरमा बिपद ब्यवस्थापन समिति गठन गरेर उनीहरुलाई बिउ पुँजी र तालिम दिइएको ढुंगानाको भनाई छ । मेड नेपालले ब्यवसाय गर्नका लागि आर्थिक सहयोगसंगै दक्षता अभिबृद्धि गरी बिपन्न किसानलाई निकै ठुलो गुन लगाएको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस