विदेशी लगानी ३१ प्रतिशत घट्यो

पत्रपत्रिकाबाट

विहीबार, ०१ माघ २०७७, ०८ : ०८
विदेशी लगानी ३१ प्रतिशत घट्यो

काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्समा कोभिड–१९ को प्रभाव नदेखिए पनि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रभावित भएको छ । चालु आर्थिक वर्षका पाँच महिनामध्ये चार महिनामा लगातार विदेशी लगानी घटेपछि यसलाई कोरोनाको प्रभावका रूपमा विश्लेषण गरिएको हो ।

चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी करिब साढे ३१ प्रतिशत घटेको हो । २०७६ मंसिरसम्म यस्तो लगानी ६ अर्ब ५६ करोड रुपैयाँ थियो । गत साउनमा विदेशी लगानी ३।३ प्रतिशतले घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो ।

गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । भदौमा विदेशी लगानी २३।३ प्रतिशतले बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । तर असोजमा यस्तो लगानी २६।८ प्रतिशत र कात्तिकमा २४ प्रतिशतले घट्यो । मंसिरमा पनि सोही प्रवृत्ति दोहोरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

कोरोनाका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेको समयमा नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकले बताएको छ । कोभिड–१९ का कारण विश्वभर नै लगानी विस्तारमा सुस्तता आएकाले नेपालमा पनि त्यसको असर देखिएको राष्ट्र बैंकको तर्क छ । कोभिड–१९ का कारण अहिले अन्य राष्ट्रमा जस्तै नेपालमा पनि विदेशी लगानी केही हदसम्म प्रभावित भएको पूर्व अर्थ सचिव रामेश्वर खनालले स्विकारे ।

यद्यपि विदेशी लगानी भित्र्याउन राज्यस्तरबाट भएका प्रयास पर्याप्त नहुनु पनि अर्को कारण भएको उनले बताए । ‘सरकारले विदेशी लगानीसम्बन्धी ऐन नियमावलीमा केही परिमार्जन गरेको छ । यो राम्रो कदम हो,’ उनले भने, ‘तर लगानीका लागि अझै पनि जग्गा प्राप्ति, स्थानीय निकायको किचलोलगायत थुप्रै व्यावहारिक कठिनाइ छन् । यही कारण विदेशी लगानीकर्ता स्वस्फूर्त रूपमा आउन सकेका छैनन् ।’ व्यावहारिक जटिलता न्यूनीकरण नगरेसम्म अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसक्ने उनको तर्क छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस