जनकपुरमा सार्वजनिक शौचालय निर्माण अभियान : ‘बालुवामा पानी हाले सरह’

पत्रपत्रिकाबाट

बुधबार, २९ पुस २०७७, ०८ : ३५
जनकपुरमा सार्वजनिक शौचालय निर्माण अभियान : ‘बालुवामा पानी हाले सरह’

जनकपुरधाम । जनकपुरधामका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउन थालेको बर्सौं भए पनि अझै सकिएको छैन । अर्कातिर भएका शौचालयको उचित व्यवस्थापन नहुँदा आगन्तुकले सास्ती खेप्नुपरेको छ ।

प्रदेश २ को अस्थायी राजधानीसमेत रहेको जनकपुरधाम ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सहर हो । भएका शौचालयको व्यवस्थापन नहुँदा जनकपुरधाम घुम्न आउनेहरू दिसापिसाब लाग्दा कठिनाइ हुने गरेको बताउँछन् । तिनको रेखदेख नहुँदा खण्डहर बनेका छन् ।

तत्कालीन जिल्ला विकास समिति (जिविस), नगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लगायत निकायको संयुक्त लगानीमा सुविधासम्पन्न २६ कोठाको सार्वजनिक शौचालय निर्माणको सम्झौता भएको थियो । करिब २४ लाख रुपैयाँमा सम्झौता भए पनि अहिलेसम्म शौचालय बनेको छैन । 

निर्माणाधीन अवस्थामै शौचालय जीर्ण बनेको छ । ‘शौचालयमा प्लास्टर, ढोका, झ्याल केही पनि लगाएको छैन । पानी, धारा केही छैन,’ स्थानीय सुशील कर्णले भने, ‘कमसल इट्टा र निर्माण सामग्री प्रयोगले होला शौचालय प्रयोगमा नआउँदै भत्किन थालेको छ ।’

जनकपुरधाम उप–महानगरपालिका–४ स्थित गंगासागरको दक्षिण श्मशानघाट नजिकै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ६ वर्षअघि ३१ लाख रुपैयाँको लागतमा शौचालय निर्माण ग¥यो । तर रेखदेख नहुँदा उपयोग हुन नसकेको स्थानीय रामकेवल साहले बताए । ‘प्रयोगमा नआएपछि केही वर्षयता केही मानिस शौचालयमा नै बस्न थालेका छन्,’ उनले भने, ‘सार्वजनिक शौचालयको निजी प्रयोग भइरहेको छ ।’

बाह्रबिघा रंगभूमि मैदानमा पनि त्यहाँ हुने धार्मिक मेला, महोत्सव मध्यनजर गर्दै आव ०६५÷६६ मा नै बनाउन थालिएको शौचालय अझैसम्म तयार भएको छैन । बाह्रबिघाको उत्तरपूर्व कुनामा भारतीय दूतावासको सहयोगमा बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्ले शौचालय निर्माण थालेको थियो । ३५ लाख रुपैयाँ लागतको उक्त शौचालय पनि बनाउन थालेको १० वर्षमा पनि सञ्चालनमा आउन सकेको छैन । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस