२४ वर्षीया महिलालाई  श्रीलंकामा बेच्ने अभियुक्त पक्राउ

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, १२ : ४३
२४ वर्षीया महिलालाई  श्रीलंकामा बेच्ने अभियुक्त पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई झापाबाट  पक्राउ गरेको हो । अमृतले २४ वर्षीया महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्‍याएका थिए ।

श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् । 

अमृत उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस