बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ३६ पुग्यो

पत्रपत्रिकाबाट

सोमबार, २७ पुस २०७७, ०७ : ५६
बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ३६ पुग्यो

नेपालगञ्ज । स्थानीय बासिन्दाले समेत संरक्षणमा सहयोग गरेपछि बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या उल्लेख्य रुपमा बृद्धि भएर ३६ पुगेको निकुञ्जले जनाएको छ । एक दशकयता सबैको सहयोगले गैंडा चोरी शिकारीका घटना शुन्यमा झरेपछि संरक्षणमा बल पुगेको र सोही कारणले गैंडाको संख्या समेत बृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनुभयो ।

उहाँले एक दशक यता निकुञ्जमा गैंडाको चोरी शिकारी शुन्यमा झरेको बताउँदै भन्नुभयो–‘एक दशकअघि चोरीशिकारीका घटना बढी हुन्थे । हाल भने शुन्य भएको छ, यसले गैंडा संरक्षणमा ठुलो सहयोग पुगेको छ ।’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार चोरीशिकारी नियन्त्रणका लागि स्थानीयहरुले समूह बनाएका छन् । बाल क्लबहरु परिचालित छन् । बन्यजन्तु हेर्न पर्यटकरु आउन थालेपछि स्थानीयले संरक्षणमा जोड दिएका हुन । त्यसबाट स्थानीयलाई केही आर्थिकक फाईदा हुन थालेको छ ।

निकुञ्जका गैंडा डल्ला गाउँको शिव समुदायिक वनमा आउजाउ गरिरहने हुँदा डल्ला होमस्टेमा गैंडा हेर्न धेरै पर्यटकहरु पुग्न थालेका छन् । निकुञ्जका होटल र नजिकका गाउँमा सञ्चालनमा आएका होमस्टेहरुमा पर्यटकहरुको उपस्थिति फेरी बढ्न थालेको छ । सन २००८ मा बर्दिया निकुञ्जमा गैंडाको संख्या २२ मा झरेको थियो । बबई उपत्यकाको परेवा ओडरमा छाडिएका डेढ दर्जन बढी गैंडा चोरी शिकारी भएपछि संख्या एकाएक घटेको थियो । हाल परेवा ओडरमा ६ वटा गैंडा रहेको निकुञ्जले जनाएको छ ।

सन २०२० मा गरिएको गणनामा गैंडाको संख्या बढेर ३६ पुगेको देखिएको थियो । राष्ट्रिय प्राकृति संरक्षण कोष कार्यक्रमले दुलर्भ मानिने गैंडाको संख्या बर्दिया निकुञ्जमा बढ्ने क्रममा रहेको जनाएको छ । सन १९८६ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा हस्तान्तरण गरिएको थियो । सन २००० मा गैंडाको संख्या ६३ पुग्यो ।

सन २००५ मा बढेर ६७ पुग्यो । तर त्यसको दुई वर्षपछि आधाभन्दा बढी संख्या घट्यो । सन २००७ मा गैंडाको संख्या घटेर ३१ मा झरेको तथ्यांक छ । त्यसयता सन २००८ मा अझै घटेर २२ मा झ(यो । तर सन २०११ देखि गैंडाको संख्या सुधारउन्मुख देखिएको छ । उक्त समयमा गैंडाको संख्या २४ थियो । सन २०१५ मा २९ र हाल आएर ३६ पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस