युरेका पब्लिकेसनका चार पुस्तकमाथि अन्तरक्रिया

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, १६ : ०१
युरेका पब्लिकेसनका चार पुस्तकमाथि अन्तरक्रिया

चितवन । भरतपुर २ क्षेत्रपुरमा रहेको रामेश्वर पुस्तकालयमा शनिबार एक कार्यक्रमको आयोजना गरी युरेका पब्लिकेसनले यसै वर्ष बजारमा ल्याएका चार पुस्तकमाथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको कार्यक्रममा लकडाउन डायरी एकान्तवास, निबन्ध संग्रह कुटी, कथा संग्रह निर्णय र उपन्यास मोसोमाथि अन्तरक्रिया गरिएको हो । 

पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यासमाथि कवि, पत्रकार एवं रामेश्वर पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाले टिप्पणी गरे । मोसोको कथाले पाठकमा कौतुहलता सिर्जना गर्ने बताउँदै थपलियाले भने, ‘सबै पत्रकारले एकचोटि मोसो पढ्नै पर्छ । लेखकले जोखिम उठाएर पत्रकारिताभित्रको विकृति उजागर गरेका छन् ।’ गहन विषयमा पाको पत्रकारले लेखेको उपन्यासमा द्विअर्थी संवाद नराखेको भए हुने उनको सुझाव थियो ।

अर्का पत्रकार विनोदबाबु रिजालको पुस्तक एकान्तवासमाथि पत्रकार रमेशकुमार पौडेलले टिप्पणी गर्दै एकान्तवास आफूलाई मन परेको पुस्तक भएको बताए । उनले केही तथ्यगत त्रुटि औँल्याउँदै कोरोना महामारीको साझा भोगाई पुस्तकमा अभिलेखका रुपमा आएको बताए ।

शिक्षक गायत्री अधिकारीको कथा संग्रह निर्णयमाथि कथाकार शान्ति शर्माले टिप्पणी गर्दै निर्णयभित्रका सबैजसो कथामा प्रेम र अनुरागका कुरा आएको बताइन् । उनले कथाहरु सबै एउटै स्वादका रहेको र स्वैरकल्पनाको अभाव महसुस गरेको बताइन् । मणि अर्यालको पुस्तक कुटीमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि एवं पत्रकार सिर्जन अविरलले कुटीभित्रका निबन्ध आत्मपरक र वस्तुपरक रहेको बताए ।

सम्पूर्ण किताब एवं युरेका पब्लिकेसनका संचालक लेखराम सापकोटाले संचालन गरेको कार्यक्रममा समीक्षक उदय अधिकारीले सहजीकरण गरेका थिए । अधिकारीले सोधेका केही प्रश्नमाथि सर्जकहरुले जवाफ दिएका थिए । 

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले चितवनको साहित्यिक श्रीवृद्धिमा सम्पूर्ण किताबले महत्वपूर्ण योगदान दिएको विचार व्यक्त गरे । दर्शक दीर्घाबाट पत्रकार एवं लेखक वीरेन्द्रमणि पौडेल, पत्रकार एवं कथाकार वसन्त पराजुलीले लेखकहरुमाथि प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस