कोरोना विरुद्धको अर्को खोप मोडेर्नालाई पनि बेलायतले आममानिसको प्रयोगमा ल्यायो

एजेन्सी

शुक्रबार, २४ पुस २०७७, २० : १४
कोरोना विरुद्धको अर्को खोप मोडेर्नालाई पनि बेलायतले आममानिसको प्रयोगमा ल्यायो

काठमाडौं । बेलायतमा कोरोनाको महामारी बढेसंगै कोरोना विरुद्धको अर्को  खोप मोडेर्नालाई पनि बेलायतले आममानिसको प्रयोगको  लागि मान्यता दिएको छ ।

तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता  पाएसंगै  बेलायतमा कोरोना विरुद्धका तीनवटा खोप संचालनमा आएका छन् । मोडर्नाको खोप पनि फाइजर- बायोएनटेक जत्तिकै प्रभावकारी भएको बताइएको छ। परीक्षणका क्रममा यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो ।

बेलायतले मार्डना खोपको १ करोड ७० लाख डोज अर्डर गरेको  भएपनि प्रयोगका लागि उपलब्ध हुन कम्तीमा मार्च महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन् । यसअघि फाइजर-बायोनटेक र अक्सफोर्ड-एक्सट्राजेनेका खोपलाई बेलायतले मान्यता दिएर वितरण पनि शुरु गरिसकेको छ ।

कोरोना  संक्रमण दर बढेसंगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो  दिईसकेको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ । बिहिबार सार्वजनिक तथ्यांक अनुसार  बेलायतमा पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको थियो भने पछिल्लो एकसाता निरन्तर पचास हजार भन्दा बढी संक्रमित थपिदै आएका छन् ।