जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्छ : जेसिज अध्यक्ष खनाल

रासस

शुक्रबार, २४ पुस २०७७, १२ : २२
जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्छ : जेसिज अध्यक्ष खनाल

चितवन । नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताएका छन्  । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

नेतृत्व, व्यक्तित्व र क्षमता विकासलाई महत्व दिएर अगाडि बढ्ने बताउँदै उनले भने , “मैले आगामी वर्ष जेसिजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु ।” आफूले  सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्ने उनको भनाई छ ।  जेसिज आफैंमा एउटा तालिम प्रदायक संस्था भएको बताउँदै उनले आफ्नो कार्यकालमा तालिमलाई थप सर्वसुलभ बनाउने प्रयास हुनेछ । 

जेसिजले मानवताको कार्यलाई आफ्नो आर्दश ठान्ने उनको भनाइ छ ।  “हाम्रो आस्था हेर्नुहोस्, समाज रूपान्तरणका लागि जेसिजले सबै काम गर्दै आइरहेको छ,”–उनले भने । निरंकुश र कहालीलाग्दो शासन व्यवस्था भएका बेलामा पनि जेसिजले आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको भन्दै खनालले जेसिजले विधिको शासन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गर्ने गरेको छ ।

जेसिज सधैँ लोकतन्त्रको पक्षमा रहेकामा जोड दिँदै उनले भने, “हामी व्यक्तिको शासन मान्दैनौं, विधिको शासनका पक्षपाती हौँ, कहीँकतै शासनमा व्यक्ति हावी भए र विधि मिचियो भने जेसिजले देशभर विधिको शासनका पक्षमा वकालत गर्छ ।” जेसिजमा राजनीतिक आस्थाले केही फरक नपार्ने बताउदैं उनले जेसिज राजनीति गर्ने थलो नभएकोे पनि प्रष्ट्याए । 

‘परिवर्तनका लागि उठौँ,  मानव विकासका नेतृत्वका अभ्यासहरु देशभरि’ भन्ने नाराका साथ जेसिज लागेको उनको भनाई छ ।  राष्ट्रिय अध्यक्षको यही प्रकरणमा केन्द्रित रहेर देशभरका जेसिजकर्मीले काम गर्ने उनले बताए  । देशभरमा २० हजारभन्दा बढी सङ्ख्यामा जेसिजका सदस्य छन् । 

सन् २००४ देखि जेसिज अभियानमा लागेका खनाल सन् २०१० मा २० हजार जेसिज भरतपुर चितवन शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई सन् २०२१ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस