देशलाई संकटबाट बचाउन राष्ट्रिय सभा सदस्यहरुले आफ्नो भुमिका सशक्त पार्ने

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १५ : ०२
देशलाई संकटबाट बचाउन राष्ट्रिय सभा सदस्यहरुले आफ्नो भुमिका सशक्त पार्ने

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले प्रतिनिधि सभा नभएको अवस्थामा आफुहरुको भूमिका सशक्त पार्ने बताएका छन् । राष्ट्रिय सभाको सातौँ अधिवेशन पौष १७ गतेदेखि शुरुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै यस राष्ट्रिय सभा अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।

विधेयकहरु दुवै सदनबाट पास हुनुपर्ने भएकाले राष्ट्रिय सभाको यस अधिवेशनमा सरकारले पर्याप्त बिजनेश नदिने आशंका साथ अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्यहरु नै बताउँछन् । यद्यपी सरकारले दिएको बिजनेशमा गम्भिरतापूर्वक छलफल गर्ने र संकटपूर्ण अवस्थालाई निकाश दिन भूमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको भनाई छ ।

राष्ट्रिय सभा सदस्य शान्ति अधिकारीले नीति निर्माण गर्ने काम र संकटपूर्ण अवस्थालाई निकास दिई संकटबाट बचाउन भूमिका खेल्ने बताए । प्रतिनिधि सभाले पास गरिसकेका र राष्ट्रिय सभाले पास गर्न बाँकी विधेयकहरु पास गरिने उनको भनाई छ ।

राष्ट्रिय सभा सदस्य रामलखन चमारले सरकारले आवश्यक ठानेका कामको सन्दर्भमा त्यसको जिम्मेवारी राष्ट्रिय सभाले बहन गर्ने भएकाले राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको बताए । जनताको बिचमा सम्बन्धित दलको धारणा लिएर जाने, जनतालाई संगठित गर्नुका साथै जनताको सरोकारका विषय सम्बन्धित मन्त्रालयमा पु¥याउने भूमिका राष्ट्रिय सभा सदस्यको रहेको उनकोे भनाई छ । 

विधेयकको काम नहुने भएकाले अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले बताए । यद्यपी समितिमार्फत हुने कामहरु हुने उनले बताए ।

कोभिड १९ को विषय, विभिन्न आयोगको प्रतिवेदन लगायत राष्ट्रिय सभाको बिजनेश हुनुपर्ने राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरको भनाई छ । प्रतिनिधि सभा नभएको अवस्थामा जनताका जल्दाबल्दा सवालमा राष्ट्रिय सभामा छलफल हुनुपर्ने तथा जनतालाई जनप्रतिनिधिमुलक संस्था छ भन्ने अनुभुति दिलाउन राष्ट्रिय सभा बैठकको निरन्तरता आवश्यक रहेको उनले बताए ।

प्रतिनिधि सभा विघटन भएका कारण राष्ट्रिय सभाको यस अधिवेशनमा धेरै विधेयकहरुमाथि छलफल हुनेछैन । यद्यपी राष्ट्रिय सभा सदस्यहरुले भने जनजिविकाको सवालमा तथा राष्ट्रिय राजनीतिमा देखा परेका जटिलताको सवालमा राष्ट्रिय सभाले महत्वपूर्ण तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस