‘निर्वाचन आयोगको पत्र असान्दर्भिक’ : दाहाल–नेपाल पक्षको जवाफ

पत्रपत्रिकाबाट

बुधबार, २२ पुस २०७७, ०८ : १०
‘निर्वाचन आयोगको पत्र असान्दर्भिक’ : दाहाल–नेपाल पक्षको जवाफ

काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगले पठाएको चिठीलाई ‘अस्वाभाविक र असान्दर्भिक’ भनेको छ । उक्त पक्षले दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहन नपर्ने आशयको पत्र मंगलबार आयोगलाई लेखेको छ । कुनै पनि पक्षबाट दलको आधिकारिकतालाई लिएर मागदाबी नआएपछि नेकपाको विवाद निरूपणको विषय थप पेचिलो बनेको छ ।

आयोगले कानुनअनुसार प्रक्रिया पुर्‍याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनु भन्ने आशयको पत्र दाहाल–नेपाल पक्षलाई पठाएको थियो । दाहाल–नेपाल पक्षले आयोगले त्यसरी पत्र पठाएको विषय कानुनअनुसार नमिलेकाले त्यो असान्दर्भिक भएको जनाएको छ । उक्त पक्षले आयोगलाई बुझाएको पत्रमा त्यसको जवाफ दिइरहन नपर्ने व्यहोरा उल्लेख छ ।

आयोगले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा दाहाल–नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र पठाएको थियो । दुवैतिर पत्रको व्यहोरा फरक थियो । ओली पक्षसँग उसले बुझाएको विवरणका विषयमा स्पष्टता खोजिएको थियो र त्यसका लागि कुनै समयसीमा निर्धारण गरिएको थिएन भने दाहाल–नेपाल पक्षलाई राजनीतिक दलसम्बन्धी दफा ४४ अनुसारको प्रक्रिया पूरा गरेर सात दिनभित्र आधिकारिकता मागदाबी गर्न भनिएको थियो ।

दाहाल–नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले एउटै विवादमा दुई पक्षलाई अलग–अलग प्रकृतिको पत्र लेख्नु नै आयोगको गल्ती भएको बताए । ‘आधिकारिकता दाबी गर्न आऊ भनेर हामीलाई पत्र लेख्नुपर्ने कुनै कारण छैन, हामी आधिकारिक नै छौं, केन्द्रीय कमिटीका बहुमत सदस्यको उपस्थितिमा बैठक गरेर त्यसको निर्णय आयोगलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘आयोगले दलको बहुमत हेर्ने हो । बहुमत सदस्यको उपस्थितिमा गरिएको निर्णयअनुसारको अभिलेखीकरण आयोगले गरे पुग्छ । बहुमत संख्या रहेको पक्ष स्वतः मूल पार्टी हो, हामीले दाबी गर्नुपर्ने नै होइन ।’

दाहाल–नेपाल पक्षकै कानुन व्यवसायी पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले पार्टीको नाम, चिह्न वा लोगोमा विवाद नरहेको दाबी गरे । उनले बहुमत केन्द्रीय सदस्यको बैठकले जम्माजम्मी एउटा निर्णय गरेको र त्यसको जानकारी आयोगमा पठाइसकिएको बताए । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को व्यवस्थाअनुसार एक जना अध्यक्षलाई हटाएर अर्को अध्यक्ष बनाइएको जानकारी आयोगलाई गराइएको उल्लेख गर्दै उनले त्यसैलाई दलको आधिकारिकता विवाद मान्न नपर्ने बताए ।

‘केन्द्रीय कमिटीमा उपस्थितिको हस्ताक्षर, माइन्युटलगायतका कागजात आयोगमा बुझाइसकेका छौं,’ उनले भने, ‘त्यहीअनुसार एउटा अध्यक्ष हटेको र अर्को व्यक्ति अध्यक्ष बनेको विषयलाई आयोगले आफ्नो अभिलेखमा अद्यावधिक गरिदिए पुग्छ ।’ दाहाल–नेपाल पक्षको पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाएर उक्त स्थानमा वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । पार्टीको विधानअनुसार केन्द्रीय कमिटीको बहुमतले उक्त निर्णय लिएको प्रधानले बताए । कान्तिपुर दैनिकमा खबर छ ।