हेटौँडा । चितवनका तीन जना पत्रकारका साहित्यिक कृति मोसो, एकान्तवास र कुमातामाथि शनिबार हेटौँडामा एक कार्यक्रमबीच वृहत चर्चा गरिएको छ । राउण्ड टेबल गसिपले आयोजना गरेको कार्यक्रममा ती कृतिमाथि समीक्षासहितको चर्चा गरिएको हो ।
सूर्यप्रकाश कँडेलद्वारा लिखित ‘मोसो’ उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै प्राध्यापक घनश्याम घिमिरेले चितवनको सेरोफेरोमा लेखिएको मोसोभित्र पत्रकारिताभित्रका सकारात्मक र नकारात्मक प्रसंग रहेको बताए । उनले मोसोभित्र पत्रकारिताको विकृतिको शल्यक्रिया पर्याप्तमात्रामा नभएको धारणा राख्दै विषयवस्तुलाई सजिलो पारामा अभिव्यक्त गरिएको र कलात्मकताको अभाव रहेको विचार व्यक्त गरे ।
विनोदबाबु रिजालले लेखेको लकडाउन डायरी ‘एकान्तवास’ माथि आफ्ना भनाइ राख्दै कवि शान्ति प्रिय वन्दनाले लकडाउनको अवधिमा लेखिएका निबन्ध रिपोर्ताज् शैलीका रहेको बताइन् । उनले पुस्तकमा लकडाउनको अवधिमा घर फर्केकाहरुको बिजोग अवस्था पुस्तकमा छुटेको टिप्पणी गरिन् ।
वसन्त पराजुलीद्वारा लिखित ‘कुमाता’ कथा संग्रहको समीक्षा गर्दै कवि निमेष निखिलले कुमाताभित्रका १० वटा कथामा विषयगत विविधता रहेको बताए । उनले पुस्तकमा भाषिक त्रुटी भेटिएपनि ती कथाहरु विषयवस्तुका हिसाबले राम्रा रहेको प्रतिक्रिया दिए ।
पत्रकार छवि अनित्यले सञ्चालन गरेको कार्यक्रममा लेखकत्रय कँडेल, रिजाल र पराजुलीले आफ्ना भनाई राख्दै पहिलो कृति भएकोले साहित्यको मिठास दिन नसकेको स्वीकार गरे । समाचार लेखिरहेको व्यक्तिले साहित्यमा कलम चलाउँदा लेखनीमा सरलता भएको उनीहरुको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कुनै पनि कृति आफैमा पूर्ण नहुने बताउँदै लेख्न छाड्न नहुने सुझाव दिए । उनले व्यक्तिको कमजोरीलाई संस्थागत कमजोरीका रुपमा प्रस्तुत गरिनु गलत हुने बताए । उनले भने, ‘व्यक्ति गलत हुन सक्छ, संस्था गलत हुँदैन ।’ व्यक्तिगत कमजोरी सुधारका लागि साहित्यले मार्गदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।
पत्रकार राम अविकासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेशका सल्लाहकार एवं तु खबर डट कमका सम्पादक गिरिजा अधिकारीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा लेखकत्रय कँडेल, रिजाल र पराजुलीलाई कदरपत्र समेत दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ पुस २०७७, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल किताब जात्रा २०७७ हुने
आकासको 'तपस्या' सार्वजनिक
विजय चालिसेका तीन नयाँ कृति बजारमा
युरेका पब्लिकेसनका चार पुस्तकमाथि अन्तरक्रिया
साझा प्रकाशनले नयाँ नेतृत्व चयन गर्दै
प्रज्ञाश्री विमोचनसँगै प्राध्यापक सम्मान