उखु किसानको पिडा

लड्दालड्दै ज्यान गयो, तर पैसा आएन

पत्रपत्रिकाबाट

बुधबार, १५ पुस २०७७, ०७ : ४३
लड्दालड्दै ज्यान गयो, तर पैसा आएन

काठमाडौँ । १६ दिनको आन्दोलनपछि सोमबार सरकार र उखु किसान संघर्ष समितिबीच चारबुँदे सहमति भएको थियो । सहमतिको चौथो बुँदामा छ– ‘उखु किसानले काठमाडौंमा हाल गरिरहेको धर्ना तत्काल स्थगन गर्ने ।’ पैसा नै नपाई आन्दोलन स्थगन गर्ने निर्णयले सर्लाहीका ६४ वर्षीय किसान नारायण राय यादवलाई छटपटी बढ्यो । बैंक र सहकारीको ऋण र त्यसको बढेको ब्याजका अंक सम्झँदा व्यवहार कसरी चलाउने भन्नेमा दुविधा भयो । जोरपाटीको कृष्णप्रणामी मन्दिर परिसर पुगे ।

दिनभर माइतीघरमा आन्दोलनपश्चात् मन्दिर परिसरबाटै सोमबार यादवले जनता समाजवादी पार्टीका नेता केदारनन्दन चौधरीलाई टेलिफोन गरे । उनले भनेका थिए, ‘आन्दोलनमा बसेको दुई हप्ता भयो तर पैसा पाएका छैनौं । यता २१ दिनभित्र भुक्तानी गराउने सम्झौता भयो, अब बैंकलाई के जवाफ दिने रु’ गंगालाल हृदयरोग अस्पताल परिसरमा भेटिएका नेता चौधरीले उक्त संवाद सुनाउँदै भने, ‘उहाँले काठमाडौंबाट खाली हात कसरी घर फर्किऊँ रु के गर्ने, के नगर्ने भयो भन्नुभयो । मैले सम्झाउँदै खाना खाएर आराम गर्न र मंगलबार संघर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर केही उपाय निकाल्नुपर्छ भनें ।’

गत वर्ष सरकारबाटै ठगिएका यादव सोमबारको चारबुँदे सहमतिबाट भुक्तानी पाउनेमा आश्वस्त थिएनन् । उनको मंगलबार हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको छ । ‘उनले खाली हात घर कसरी जाने, बैंकलाई के जवाफ दिने बारम्बार भन्दै आएका थिए,’ चौधरीले कान्तिपुरसँग भने, ‘मंगलबार बिहान अचानक फोन आयो ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । अहिले यो दुःखद् घटना भयो ।’

माइतीघरमा सँगै आन्दोलनमा रहेका अर्का किसान पन्नीलाल यादवका अनुसार सोमबार दिउँसोसम्म नारायणको अवस्था ठिकै थियो । उनीहरूले बेलुकाको खाना धर्मशालामा सँगै खाएका थिए । ‘भात खाएपछि सँगै बसौं भन्दा मान्नुभएन । कपडाहरू मन्दिरमा भएकाले जोरपाटी नै जान्छु भन्नुभयो,’ गंगालाल अस्पतालमा भेटिएका पन्नीलालले भने, ‘धेरै तनावकै कारण यस्तो अवस्था भयो ।’

उनीहरूका अनुसार आफूलाई अप्ठ्यारो महसुस भएको भन्दै नारायणले बिहानको ५स्४५ बजे बच्चु राय यादवलाई फोन गरेका थिए । ‘बाथरुम जान लागेको लडें । पसिना धेरै आयो, तपाईं छिटै आउनु । छाती दुख्यो, अस्पताल लिएर जानु भन्दै फोन गर्नुभयो,’ बच्चु रायले सुनाए, ‘ट्याक्सी खोजेर तत्काल चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गर्‍यौं ।’ हेल्पिङका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालालमा रेफर गरेका थिए । त्यहाँ सिटिस्क्यान गरिए पनि अन्य उपचार भने हुन सकेन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस