ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत

एजेन्सी

मंगलबार, १४ पुस २०७७, २० : ५७
ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत

काठमाडौँ । कोरोनाभाइरस महामारीको कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । 

ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अङ्कले घटेको हो ।

ब्राजिलले तीन महिनाको अवधिमा बेरोजगार तथ्याङ्कहरू मापन गरी सार्वजनिक गरेको तथ्याङ्कमा नौ पटकसम्मको बेरोजगारी दरमा आएको प्रत्यक्ष कमीले लामो समयपछि पहिलो पटक ब्राजिलको अर्थतन्त्रमा सुधारको सङ्केत गरेको छ । 

ब्राजिलमा अहिले उक करोड ४१ लाख मानिस बेरोजगार रहेका तथ्याङ्कबारे लेखा राख्ने सरकारी निकाय आईबीजीईले जनाएको छ ।

यो एक बर्ष पहिलेभन्दा १७ लाख बढी हो । एक वर्ष पहिले सोही अवधिमा ब्राजिलको बेरोजगारी दर ११.६ प्रतिशत थियो । ब्राजिल कोभिड–१९ को महामारीका कारण प्रभावित हुने विश्वकै दोस्रो मुलुक हो । बढी प्रभावित मुलुक अमेरिकापछि ब्राजिलमा एक लाख ९१ हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमितको यो वर्ष मृत्यु भइसकेको छ ।   

ब्राजिल सरकारले यो वर्षको अर्थव्यवस्था ४.५ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ ।

यो वर्ष स्वास्थ्य सङ्कटको कारण यो मन्दीमा प¥यो तर तेस्रो त्रैमासिकमा ब्राजिलको कुल गार्हस्थ उत्पादन ७.७ कायम भएको छ । ब्राजिलको छ करोड गरिब जनसङ्ख्यालाई महामारीका समय धान्नु र रोगको व्यवस्थापन गर्नु ब्राजिलका लागि निकै चुनौतीको विषय रहेपनि ब्राजिलले अर्थतन्त्रलाई सुधारको दिशातिर उन्मुख गर्नसकेकोमा विश्व समुदायले ब्राजिलको प्रशंसा गरेको छ ।