चिनीयाँ टोलीको राजनीतिक भेटघाट तीव्र, राष्ट्रपति र प्रधानमन्त्रीसँग हिजै भेटघाट, प्रचण्ड र नेपालसँग आज भेट्दै

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, ०९ : ०२
चिनीयाँ टोलीको राजनीतिक भेटघाट तीव्र, राष्ट्रपति र प्रधानमन्त्रीसँग हिजै भेटघाट, प्रचण्ड र नेपालसँग आज भेट्दै

काठमाडौं । चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री कुओ येचौंको नेतृत्वको चार सदस्यीय टोली आकस्मिक रुपमा काठमाडौंमा छ । हिजो अपरान्ह काठमाडौं आएको यो टोलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरिसकेको छ ।

आज यो टोलीले अहिले बिहान प्रचण्ड, माधव नेपाल लगायतका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । औपचारिक निम्तो सरकार या राजनीतिक दल कसैले नदिएपनि टोली आफ्नै पहलमा काठमाडौं आएको हो । टोलीमा विभागका महानिर्देशक झेङ यान, सन हेयान र लियाङ विआन सहभागी छन् । कोभिडका कारण पूरा सुरक्षा मापदण्ड अवलम्वन गरेर पिपिई सहित काठमाडौं ओर्लेको यो टोली सिधै एयरपोर्टबाट राजदुतावास पुगेको थियो । राजदुतावासमै बस्ने गरी चाजोपाँचो मिलाएर आएको यो टोलीले बाहिर बस्दा कोभिडका कारण समस्या पर्न सक्ने भन्दै पूरा स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्न खोजेको छ ।

दुतावासमा ओर्लिएसँगै नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसँग नेपालको परिस्थितीका विषयमा ब्रिफिङ लिएपछि केही भेटघाट यो टोलीले दुतावासभित्रै गरेको उच्च स्रोतले बताएको छ । दुतावासको अर्काे ढोकाबाट नेताहरुलाई भित्रयाएर यो टोलीले दुतावासभित्रै केही भेटघाट गरेको बताईएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसँग दुतावासभित्रै यो टोलीले प्रधानमन्त्री ओलीसँग भेट गर्नु अगावै भेट गरेको थियो ।

खासगरी सत्तारुढ दल नेकपामा आएको विभाजन, प्रतिनिधीसभा विघटन, नयाँ चुनावको वातावरण र पून विभाजित नेकपा एकताको सम्भावना लगायतका विषयमा यो टोलीको विशेष चासो रहेको छ । नेपालको स्थिरता, स्थायित्व, सुसासन र विकास चिनियाँ पक्षले चाहँदै आएको छ । उसको भूमि तिब्बतका विषयमा अनावश्यक रुपमा पश्चिमाहरुले चलखेल गर्न सक्ने ठानी त्यसका लागि पनि चीनले नेपालमा स्थिरता चाहेको छ । नेपालको भूमि प्रयोग भएर तिब्बत मामिलामा कसैले पनि खेल्न नपाओस् भन्नेमा चीन सदैव सचेत देखिन्छ ।

त्यसमाथी नेपालको कम्युनिष्ट पार्टीसँग भाइचाराको सम्बन्ध बनाएको चिनियाँ कम्युनिष्ट पार्टीले यो पार्टी विभाजन रुचाएको छैन् । जसकाकारण पनि अझै सम्भव छ भने नेकपा जुटाउन उसको प्रयास देखिन्छ । त्यसका लागि पनि राष्ट्रपति सिको प्रत्यक्ष सन्देश बोकेर कुओ नेतृत्वको टोली काठमाडौं आईपुगेको हो । टोलीले साँझ ५ बजे राष्ट्रपति भण्डारीसँग उनकै कार्यालय शितल निवासमा दुई घण्टा भेटवार्ता गरेको थियो । टोलीले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति सिको सन्देश सुनाएको स्रोतले बताएको छ । नेपालमा राजनीतिक स्थिरता होस् भन्ने आफनो राष्ट्रपतिको सन्देश सुनाउदा राष्ट्रपति भण्डारीले भने नयाँ निर्वाचनले स्थिरताको वातावरण निर्माण गर्ने र चुनाव स्थिरताको पक्षमा भएको जवाफ दिएकी शितल निवास स्रोतले बताएको छ ।

भण्डारीसँग भेट गरेपछि यो टोलीले प्रधानमन्त्री ओलीलाई भेट्न साँझ साढे ७ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको थियो । टोलीसँगको भेटमा नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ पनि छलफलमा थिए । ओलीसँग यो टोलीले नेकपाभित्रको विवादका बारेमा गहिरो गरी कुराकानी गरेको स्रोतले बताएको छ । झण्डै साढे दुई घण्टा टोलीले प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल र नेता नेम्वाङसँग सामुहिक रुपमा भेटवार्ता गरेको थियो । अब आज यो टोलीले अहिले केही समय पछि नेकपाका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले त्यसपछि नेकपाकै अर्का अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गर्ने छ । यो टोलीले नेकपाका अन्य नेताहरुसँग पनि पालैपालो भेट्ने कोसिस गरिरहेको छ । नेकपा विभाजन भएलगत्तै राजदुत यान्छीले पनि राष्ट्रपति भण्डारी देखि प्रचण्ड, माधव नेपाल, वर्षमान पुन, कृष्णबहादुर महरा र रामबहादुर थापा (बादल) सम्मका नेतालाई भेट गरेर पार्टी एकताका बारेमा चासो र चिन्ता राखेकी थिइन् । उनले यही भेटघाटमा कुओ नेतृत्वको टोली काठमाडौं आउन लागेको बताएकी थिइन् । उपमन्त्री येचौ तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ फागुन पहिलो साता चीन सरकारका तर्फबाट बधाई ज्ञापन गर्न काठमाडौं उत्रिएका थिए ।

उपमन्त्री येचौलाई नेकपा गठबन्धन बनाउन पहल गर्ने ‘बाहिरी सूत्रधार’ समेत मानिने गरिएको छ । अहिले पनि नेकपाका दुवै खेमाले एक अर्काे नेतालाई हटाउने काम नगरेको र आफु आधिकारिक भएको दाबी सहित निर्वाचन आयोग र अदालत तिर आँखा लगाईरहेका बेला कुओ नेतृत्वको टोलीले भने दुवै पक्षलाई अझै सहमतिमा ल्याउन सकिन्छ की भन्नेमै चासो ब्यक्त गरेका थिए । 

खासगरी संसद पूर्नस्थापना गर्ने, ओली र प्रचण्डका बीचमा सत्ता सहकार्य गराउने, ओलीले अध्यक्ष छोड्ने र प्रचण्ड नेपाल दुई जना अध्यक्ष बन्ने, ओलीले सरकार चलाउने या अन्य कुनै विकल्पमा नेताहरुका बीचमा शक्ति बाँडफाँड गरेर मिलाउन सकिन्छ की भन्ने प्रयासमा पनि यो टोली रहेको स्रोतको भनाई छ । मुख्य शीर्ष नेता बाहेक अन्य दोश्रो तह देखि कार्यकर्ता तहसम्मका दुवै खेमाका नेता कार्यकर्ताहरु अझै पनि पार्टी एकताकै पक्षमा रहेकोले पनि चिनियाँ पक्षले त्यो एकता पूनः जोड्न प्रयास गरेको देखिन्छ । तर नेकपाका एक नेताले चिनियाँ पहल धेरै ढिलो भईसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस