विप्लवका छोरा डा. प्रकाशको समर्थन ओलीलाई ?

प्रकाश सिग्देल

शनिबार, ११ पुस २०७७, १६ : ३०
विप्लवका छोरा डा. प्रकाशको समर्थन ओलीलाई ?

चितवन । वर्तमान राजनीतिक ब्यवस्थाको चर्को विरोध गर्ने प्रतिबन्धित पार्टी विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी राम्रो काम गरेको बताएका छन् । 

सफल खबरसँगको कुराकानीका क्रममा प्रकाशले सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको पक्षमा फैसला नगरी ओलीको निर्णयलाई सदर गरेर अगाडि बढे देश राजनीतिक रुपमा एउटा फरक कोर्समा अगाडि बढ्ने र त्यसले पत्रु संसदीय ब्यवस्थालाई पाखा लगाएर जनतामा छुट्टै खालको राजनीतिक कोर्स दिने चन्दको भनाई छ ।

प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा निकै ठुलो छलाङ मार्न खोजेको र उनको यो योजना सफल भए देश अब बिस्तारै समृद्धिको बाटोमा अगाडि बढ्ने चन्दको भनाई छ । आफु संसद पुनस्र्थापना नहोेस् भन्ने पक्षमा रहेको र देशमा यति धेर्रै सांसद आवश्यक नभएको उनले बताए । अहिलेको राजनीतिक घटनाक्रमले जनतामा एकखाले उत्साह जगाएको चन्दले बताए । 

देश कोरोनाको कहरमा पिल्सिएका बेला यति धेरै सांसद पाल्ने अवस्थामा देश नरहेको र संसद विघटनले देशलाई धेरै आर्थिक भारबाट समेत बचाएको उनको ठहर छ । राजनीतिक रुपमा जुन ढंगले जुन परिस्थितिले संसद विघटन भएको भएपनि यो ब्यवस्था परिर्वतनको सार्थक संकेत भएको बताउँदै उनले अहिलेको अवस्था सृजना गर्नमा ओलीले धेरै ठुलो आँट गरेको तर्क गरे । 

संसदीय भागबण्डाले मुलुक चल्दैन भन्ने धारणा विद्रोही नेकपाको भएको र ओलीले पनि त्यही नीतिलाई अंगीकार गरेकोले यसले कालान्तरमा ब्यवस्था परिर्वतनका लागि बाटो खोलेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले तोकेको मितिमा निर्वाचन गराउन भने नसक्ने उनले ठोकुवा गरे । 

डा. चन्द मेडिकल शिक्षा संघर्ष समितिका संयोजक भई नेपालमा मेडिकल शिक्षामा सुधारका धेरै काम गर्न सफल भएका छन् । डा. चन्दले सरकारी अस्पतालमा काम गरी गरिब, विपन्न नागरिकको उपचार गर्ने आफ्नो चाहना रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस