उद्योगीले उखु किसानको भुक्तानी दिन थाले

पत्रपत्रिकाबाट

मंगलबार, ०७ पुस २०७७, ०७ : ४३
उद्योगीले उखु किसानको भुक्तानी दिन थाले

काठमाडौँ । उखु किसानको एक साता लामो आन्दोलनपछि उखु मिल मालिकहरूले बक्यौता भुक्तानी सुरु गरेका छन् । अघिल्लो आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलनरत किसानमा बक्यौता पाउने आशा बढेको छ । तर उनीहरू सबै रकम नपाएसम्म आन्दोलन जारी राख्ने मनसायमा छन् ।

‘सरकार र उद्योगीबाट धेरै पटक धोका खायौं । अहिले थोरैथोरै गरेर भुक्तानी गरिरहेका छन्,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘तर शान्तिपूर्ण आन्दोलन यथावत् छ । भुक्तानी सबै पाएपछि मात्र घर फर्किन्छौं ।’ श्रीराम सुगर मिलले पुस ३ मा १६ करोड ४४ लाख ७० हजार रुपैयाँ र ५ गते ८ करोड ८५ लाख ५७ हजार रुपैयाँ गरी २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको दाबी गरेको छ ।

‘पुस ३ र ५ गते गरी २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानीका लागि उखु किसानको खाता रहेका बैंकहरूलाई निर्देशन दिई सोहीअनुसार किसानको खातामा रकम जम्मा भइरहेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं,’ श्रीरामले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाँकी बक्यौताको हकमा प्रत्येक दिन क्रमशः भुक्तानी गर्दै जाने व्यहोरासमेत सबैमा जानकारी गराउन चाहन्छौं ।’ श्रीरामले भुक्तानी गरिरहेको दाबी गरे पनि संघर्ष समिति भने ठोस सबुत नभएको दाबी गर्छ ।

‘श्रीरामले २५ करोड भुक्तानी गरेको भनेको सुनेका छौं । तर किसानले पाएको कुनै प्रमाण छैन,’ सचिव रायले भने, ‘पैसा किसानको खातामा पुगेको छैन ।’ अन्नपूर्ण सुगर मिलले पनि पुस ५ देखि बक्यौता रकम भुक्तानी गरिरहेको जनाएको छ । ‘पुस ५ देखि बक्यौता रकम भुक्तानी सुरु गरेका छौं,’ मिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो एक वर्षमा किसानलाई १८ करोड भुक्तानी गरेका छौं ।

अब नियमित रूपमा दैनिक १ करोडका दरले किसानको खातामा पठाउने भुक्तानी सूची तय भएको छ । सक्दो सबै छिट्टै भुक्तानी गर्नेछौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस