यातायात व्यवस्था सेवा कार्यालय चितवनको कहिले होला स्तरोन्नति ?

प्रकाश सिग्देल

शुक्रबार, ०३ पुस २०७७, १६ : ११
यातायात व्यवस्था सेवा कार्यालय चितवनको कहिले होला स्तरोन्नति ?

चितवन । यातायात ब्यवस्था सेवा कार्यालय चितवनबाट हुने सबै सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयदेखि सरोकारवाला सबै निकायहरुले पहल गरेपनि प्रतिफल भने प्राप्त हुन सकेको छैन । 

चितवनको आँपटारीमा नयाँ भवन बनाएर सेवा बिस्तार गर्ने प्रदेश कार्यालयबाट निर्णय भएपनि जग्गा उपलब्ध हुन नसक्दा यो काम अगाडि बढेको छैन । 

सेवा कार्यालयको स्तर विकासका लागि पहलको थालनी भएको र आँपटारीमा आफ्नै भवन बनाउने बिषयमा प्रदेश सरकारबाट निर्णय भई संघीय सरकार वन मन्त्रालयबाट स्वीकृति हुन बाँकी रहेकोले भवन बनाउने कुरा कामभन्दा पनि बढी हल्ला भएको यातायात ब्यवस्था सेवा कार्यालय चितवनका प्रमुख सुवास उप्रेतीले बताए । 

यातायात कार्यालयको स्तर उन्नतिका लागि ओएनएम सर्वे भइसकेको र अब कार्यालय निर्माणसंगै कर्मचारी थप गरी चितवनबाट सबै सेवा प्रवाह हुने कुरामा भने आफू आशावादी रहेको उप्रेती बताउँछन् । 

यातायात कार्यालय चितवनले अहिलेकै कार्यालयबाट सेवा दिन सक्ने गरी स्तर विकासका लागि जिल्लाका सरोकारवाला निकायहरुमा पटकपटक डेलिगेसन जाँदा पनि प्रदेश सरकारबाट खास सम्बोधन नभएको कार्यालयका कर्मचारीहरु बताउँछन् । लाइसेन्सको नवीकरणको अधिकार दिन प्रदेश कार्यालयलाई माग गरेतापनि त्यो अधिकार पनि प्रदेशबाट आईनसकेको कार्यालयका कर्मचारीहरुको भनाई छ । लाईसन्सको नवीकरणको सेवा नहुँदा यसका लागि बिरगन्ज, बुटवल, पोखरा पुग्नु पर्ने बाध्यता रहेको सेवाग्राहीको दुखेसो छ ।

चितवनमा सेवा बिस्तारसंगै यातायात ब्यवस्था सेवा कार्यालयमा स्तरोन्नतिका लागि वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस पत्र समेत यहाँका निकायहरुले पठाइसकेका छन् । भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ चितवन, यातायात सेवा कार्यालय भरतपुर लगायतका निकायहरुले यसअघि नै सिफारिस पत्र पठाइसकेका छन् ।

ती निकायले गरेको सिफारिस पत्रमा सवारी चालक अनुमति पत्र, परीक्षा संचालन, लाइसेन्स वितरण र नवीकरण, सवारी नामसारी लगायतका समस्याहरु समाधानमा अख्तियारी नभएकाले बढ्दो सवारी साधनको प्रयोग, जनसंख्या र भौगोलिक आवश्यकताले पनि चितवनमा यातायात ब्यवस्था कार्यालयबाट सम्पादन हुने सबै कार्य गर्ने गरी सेवा बिस्तार सहित यातायात ब्यवस्था कार्यालय स्तर उन्नतिका लागि सिफारिस साथ अनुरोध गदर्छौं भनी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गरेका छन् । तर मन्त्रालयबाट अधिकार प्रत्याजोजन गर्ने कुरामा कुनै प्रतिक्रिया नआएको बुझिन आएको छ । 

चितवन जस्तो जिल्लामा महानगरदेखि जिल्लाका सबै निकाय लाग्दा पनि कार्यालयलाई अधिकार प्रत्यायोजन नहुनु अच्ममको कुरा भएको कर्मचारीहरु बताउँछन् । केन्द्रमा देखिएको नेकपाको किचलोको असर चितवनको यातायात कार्यालयमा पनि परेको कार्यालयका एक कर्मचारीले बताए ।

चितवनका राजनितिक नेतृत्वहरुसहित आफूहरु मन्त्रालयमा डेलिगेशन गएको र चितवनको समस्या समाधनमा मन्त्रालय सकारात्मक रहेको कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले बताए । कार्यालय प्रमुख पनि यो बिषयमा निकै लाग्नु भएको र अब छिटै समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको उनी बताउँछन् ।

यसैबीच, यातायात ब्यवस्था सेवा कार्यालय चितवनले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २७ करोड ८४ लाख २२ हजार ७ सय ८६ रुपैया राजस्व संकलन गरेको छ ।

यातायात क्षेत्रको आम्दानी १९ करोड ९७ लाख ३ हजार ६५ रुपैया, सवारी साधन कर वापत २५ करोड ४ लाख २७ हजार ९ सय ९२ रुपैया, सवारी दर्ता किताब सम्बन्धी दस्तुर वापत ८० लाख २१ ह्जार ७ सय २९ रुपैया राजस्व संकलन भएको हो । 

प्रतिक्रिया दिनुहोस