सुगर मिल्सको खातामा जम्मा भयो ३५ करोड, आजबाट उखु किसानलाई वितरण

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, ११ : ४६
सुगर मिल्सको खातामा जम्मा भयो ३५ करोड, आजबाट उखु किसानलाई वितरण

काठमाडौं । श्रीराम सुगर मिलले उखु किसानको ३५ करोड बैंक खातामा हालिदिने भएको छ ।

चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका हुन् ।

उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने, ‘आजबाट उखु किसानलाई वितरण गर्ने कार्यतालिका बनाइएको छ ।’

उखु किसानको बक्र्यौता नतिरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले चिनी उद्योगीलाई पक्रने निर्णय गरेका थिए । सो निर्णयपछि प्रहरीले त्यस्ता उद्योगीविरुद्ध ब्यापक ‘सर्च अपरेशन’ चलाएको छ ।

श्रीराम सुगर मिल्सका सञ्चालक विशाल अग्रवालसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमती जारी गरिएको छ ।

‘ठगी मुद्दा’मा विशाल, अर्का संचालक हितेश गोल्छा र मिल्सका कार्यकारी निर्देशक पदमकान्त झा विरुद्ध पक्राउ पुर्जी जारी भएको रौतहटका एसपी सिद्धीविक्रम शाहले बताए ।

प्रतिक्रिया दिनुहोस