मिक्लाजुङ घटना :  ‘मागेजति चन्दा नदिँदा हत्या’

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ पुस २०७७, ०८ : २१
मिक्लाजुङ घटना :  ‘मागेजति चन्दा नदिँदा हत्या’

विराटनगर । गाउँमा सुरक्षा माग गर्नु र मागेजति चन्दा दिन नसक्नुकै कारण मोरङको मिक्लाजुङस्थित विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको अधिकारकर्मीहरूले निष्कर्ष निकालेका छन् । स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा श्रेष्ठको हत्या प्रतिकारमा नभई निर्मम यातनापछि घाँटी रेटेर नियोजित रूपमा गरिएको उल्लेख छ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले मंसिर २३ गते घरबाट अपहरण गरी घाँटी रेटेर हत्या गरेका थिए । हत्यापछि प्रदेश १ अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, मानवअधिकार तथा वातावरण मञ्च ९फरेन०, साझा सवालका लागि साझा मञ्च ९कोकन०, थर्ड एलायन्सका प्रतिनिधि र एड्भोकेसी फोरमले स्थलगत अध्ययन गरेका हुन् ।

चन्द समूहको मेची–कोसी ब्युरोले हत्याको दिन साँझ विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका नाममा सुराकी गरेको भन्दै श्रेष्ठको हत्याको जिम्मेवारी लिएको थियो । विज्ञप्तिमा प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको उल्लेख गर्दै उनकै सुराकीमा २०७६ फागुन २६ गते बसेको ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेको र प्रहरीले कात्तिक १२ गते ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई पक्राउ गरेको उल्लेख छ ।

‘दुवै हात बाँधेर अपहरण गरिएका श्रेष्ठले प्रतिकार गर्ने अवस्थै थिएन, उनको प्रतिकारमा मृत्यु भएको पुष्टि हुँदैन,’ इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले भने, ‘निर्मम यातनापछि हत्या गरिएको पाइएको छ ।’ हत्याको प्रमुख कारण श्रेष्ठले गाउँमा लामो समयदेखि सुरक्षा कार्यालयको माग गर्नु र चन्द समूहका कार्यकर्ताले मागेजति चन्दा नदिनु पाइएको थापाले बताए । घटनास्थलको ३० किलोमिटर वरपर सुरक्षा निकायको उपस्थिति छैन ।

यसै कारण श्रेष्ठले लामो समयदेखि सुरक्षा कार्यालय स्थापना गर्न पहल गर्दै आएको पाइएको थापाको भनाइ छ । उनका अनुसार चन्द समूहका कार्यकर्ताले पहिलो पटक डेढ लाख र दोस्रो पटक १० हजार रुपैयाँ चन्दा मागेका थिए । ‘श्रेष्ठले नदिँदाखेरि पटक–पटक मार्ने धम्की दिएको बुझियो,’ उनले भने, ‘कार्यकर्ताले असारमा १० हजार रुपैयाँ चन्दा मागेका रहेछन् । त्यसबेला श्रेष्ठले ५ हजार मात्र दिँदा उक्त रकम नलिई मार्ने धम्की दिएर फर्केको पनि अध्ययनमा पाइयो ।’ घटनापछि मोरङको सुरक्षा समितिले त्यहाँ अस्थायी सुरक्षा बेसक्याम्प राखेर अनुसन्धान गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस