किन जान्छ बारम्बार बिजुली ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ पुस २०७७, ०८ : ०७
किन जान्छ बारम्बार बिजुली ?

काठमाडौँ । लोडसेडिङ अन्त्यको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि उपभोक्ताले बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्या भोग्न छाडेका छैनन् । राजधानीमै यो समस्या कायमै छ ।

लोडसेडिङ अन्त्यको जस पाएका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल गत भदौ अन्तिममा सकिएपछि उपभोक्ताहरू बत्ती गएपिच्छे फेरि लोडसेडिङ सुरु हुन लागेको भन्दै सशंकित हुन थालेका छन् । उपभोक्ताको यो आशंका कहिले सामाजिक सञ्जालमा पोखिन्छ भने कहिले प्राधिकरणको नो लाइटमा ।

बिनाकारण विद्युत् अवरुद्ध भएर उपभोक्ता मात्रै हैरान भएका छैनन्, फेरि लोडसेडिङ हुन थालेको हल्लाले प्राधिकरण व्यवस्थापन पनि आजित छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिना भन्छन्, ‘बेलाबेला विद्युत् अवरुद्ध हुँदा फेरि लोडसेडिङ हुन थालेको आशंका गर्नु मनोवैज्ञानिक त्रास मात्रै हो ।’ नयाँ व्यवस्थापन आएपछि चलेको यो आशंकामा कुनै सत्य नभएको उनी बताउँछन् ।

‘बेलाबेला विद्युत् अवरुद्ध हुने समस्या पहिला पनि थियो, अहिले पनि छ,’ उनले भने, ‘प्राधिकरणले पूर्वसूचना दिएरै मर्मतसम्भारका लागि विद्युत् अवरुद्ध गर्ने गरेको छ, यस्तो सूचना वेबसाइट र एपमा पनि राख्ने गरिएको छ ।’ ठाउँठाउँमा पोल सार्नुपर्ने, ट्रान्सफर्मर सार्नुपर्ने र मर्मत गर्नुपर्ने भएकाले पूर्वसूचना दिएर निश्चित स्थानमा विद्युत् काट्ने गरिएको तिम्सिनाको दाबी छ । उपत्यकामा विद्युत् अवरुद्ध हुनुअघि वेबसाइट र एपमा सूचना दिए झैँ उपत्यकाबाहिर भने स्थानीय एफएम र पत्रपत्रिकामार्फत सूचना दिने गरिएको उनको भनाइ छ ।

‘कहिले बिग्रिएर मर्मत गर्नुपर्ने हुन्छ, कहिले नियमित तालिकाअनुसार मर्मत गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा पूर्वसूचना दिने गरिएको भए पनि एक्कासि बिग्रिएको छ भने पूर्वसूचना दिन सम्भव हुन्न ।’ विद्युत् गृहबाट प्रसारण लाइन हुँदै उपभोक्ताको घरसम्म पुग्दा धेरै भौतिक र प्राविधिक पक्ष पूरा गर्नुपर्ने भएकाले बेलाबेलामा विद्युत् अवरुद्ध हुने तिम्सिनाको दाबी छ । कान्तिपुर दैनिकमा खबर छ ।